चलचित्र ‘हर्ष’का दुई पोस्टर सार्वजनिक

काठमाडाैं । सिनेमा ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएकाे छ । सोमबार बिहान सिनेमाका दुई पोस्टर सार्वजनिक गरिएकाे हाे । एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा मंसिर १२ गते रिलिज हुँदैछ ।
सार्वजनिक दुबै पोस्टरमा सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक दुबै पोस्टर मध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा राउत तथा शर्मिला मल्ल तथा सन्तोष पन्त देख्न सकिन्छ । यो पोस्टरमा खगेन्द्र र वर्षालाई छोरासँग रमाइरहेको देकिन्छ । छोराको भूमिका गर्ने बालकलाकार साइमन वादी हुन् ।
यसैगरी दोश्रो पोस्टरमा खगेन्द्र र वर्षालाई पहिलो पोस्टरमा झैं मीठो मुस्कानमा देख्न सकिन्छ भने नेपथ्यमा सम्भवतः सिनेमाको गीतको दृश्य हुनुपर्छ जहाँ सन्तोष पन्तको साथमा विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ तथा अंशु महर्जनलाई नाचिरहेको-रमाइरहेको देख्न सकिन्छ । यो पोस्टरमा बाल कलाकार साइमनलाई बाल कृष्णको पहिरनमा पेस गरिएको छ ।
यस्तै, अभिनेता नीर शाहलाई गम्भिर भावमा देख्न सकिन्छ । सार्वजनिक यी दुई पोस्टरले पारिवारिक जीवनका उकाली ओरालीको कथा पेस गर्ने स्पष्ट बुझ्न सकिन्छ । यस हिसाबले धेरै समयपछि दर्शकहरुको पारिवारिक ड्रामा हेर्न पाउनेछन् ।
निर्देशक पौडेल न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन् । व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमाहरु समेत निर्माण गरिसकेकी छन् । सम्पुर्ण छायांकन चितवनमा नै गरिएको सिनेमा हाल पोष्ट प्रोडक्सनको चरणमा रहेको छ । पौडेलले आफु र आफ्नो टिमले दर्शकलाई ‘हर्ष’ सिनेमा उत्कृष्ट रुपमा पस्किने बताउँदै आइरहेकी छन् ।
सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित तथा बाल कलाकार साइमन वादीको अभिनय छ ।