रिश्मा गुरुङ भन्छिन्– ‘रिमै’का लागि मैले अमेरिकाको काम छोडें

काठमाडौं । अभिनेत्री रिश्मा गुरुङले आफ्नै समुदायकै कथा भएकैले आफूले चलचित्र ‘रिमै’मा काम गरेको बताएकी छन् । ‘रिमै’मा गुरुङ समुदायकै कथा भएकाले आफू दश वर्षपछि सिनेमामा फर्किएको उनको दाबी छ । गुरुङ समुदायको कथा नभएर अरु कथा भएको भए आफूले यो सिनेमामा काम नगर्ने उनले बताएकी छन् ।

“म मेरै बुवा, बाजेले मलाई सिकाएको संस्कार र संस्कृति समेटिएको कथा छ भने किन काम नगर्ने भनेर समय नहुँदा नहुँदै पनि काम गरेको हुँ,” रिस्माले भनिन्, “यो सिनेमाका लागि अफर आउँदा सुरुमा त म काम गर्दिनँ भनेँ । मलाई समयको पनि कुरा थियो । तर, जब स्क्रिप्ट आयो त्यसपछि किन गर्ने भन्दा पनि किन नगर्ने भन्ने प्रश्न चाहिँ आयो ।“

अमेरिकामा काममा भर्खर सेटल भएको अवस्थामा यही सिनेमाका लागि आफूले काम छोडेको उनको भनाइ छ । गुरुङ समुदायको मेनस्ट्रिममा बनेको पहिलो सिनेमा पनि भएकाले आफूले ‘रिमै’मा काम गरेको उनले सुनाइन् । विभिन्न अफ्ठ्यारा र कठिनाइबीच काम गरेको उनले स्मरण गरिन् । अमेरिकामा भर्खर सेटल भएको काम छोडेर र सेटमा आर्थिक पाटोको विवाद हुँदा पनि यो सिनेमाको कथा कै कारण आफूहरूले समस्या हल गरेको उनको भनाइ छ ।

“धेरैलाई सम्भवत थाहा छैन होला, म गुरुङ भाषाको सिनेमाबाट आएकी हुँ,” उनले भनिन्, “त्यसैले पनि मलाई गुरुङ समुदायको कथा भएकाले यो सिनेमाप्रति लगाव छ ।” रिस्मा गुरुङ समुदायमा छोरी सबैभन्दा केन्द्रमा हुने बताउँछिन् । गुरुङका छोराभन्दा पनि छोरीको महत्व धेरै हुने बताउँछिन् ।

“अरु समुदायमा बाबु वा आमाको मृत्यु हुँदा अन्तिम संस्कार गर्न छोरा चाहिन्छ, छोरी नभए पनि हुन्छ,” रिस्मा भन्छिन्, “तर, हाम्रो गुरुङ जातिमा शव उठाउन छोरा नभए पनि हुन्छ तर छोरी अनिवार्य चाहिन्छ । छोरी नभएसम्म घरबाट लास उठाउँनै मिल्दैन ।”

त्यसैले गुरुङ जातिमा छोराभन्दा छोरीको महत्व कति धेरै छ, त्यो ‘रिमै’मा देख्न सकिने उनको भनाइ छ । गुरुङ समुदायको कथामा बलियो सिनेमा भएकैले आफूले यसमा काम गरेको उनले दोहो¥याइन् । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’ यही भदौ २० गते रिलिज हुँदैछ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिस्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।

सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।