‘मैझारो’का दुई पोस्टर सार्वजनिक, कात्तिक ७ गतेबाट प्रदर्शन

काठमाडौं । कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को निर्देशनमा निर्माण भएको चलचित्र ‘मैझारो’ले प्रदर्शन मिति तय गरेको छ ।

बिहीबार निर्माण पक्षले फरक–फरक लुक्सका दुई पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक ७ गतेलाई आधिकारिक रूपमा रिलिज डेट लक गरेको हो ।

सार्वजनिक दुई पोस्टरमा मध्ये एकमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनलाई देखाइएको छ । जसमा धिरज र मिरुनालाई राई समुदायको परम्परागत पोशाकमा ढोलसहित दखिएका छन् भने दिया पुन लिम्बू संस्कृतिको ढाका साडीमा झल्किएकी छन् । यी दृश्यले फिल्म त्रिकोणात्मक प्रेमकथामा केन्द्रित रहेको संकेत गर्छ ।

अर्को पोस्टरमा भने धिरज र मिरुना प्रेमिल मुद्रामा फलैचामा बसेका छन् । धिरजको हातमा बन्चरो छ भने मिरुना कुर्ता–सुरुवालमा उनलाई एकटक हेर्दैछिन्, जसले उनीहरूबीचको सम्बन्धलाई अझ स्पष्ट पारेको छ ।

निर्देशक राईकै कथा रहेको यस चलचित्रले पूर्वी पहाडको प्राकृतिक सौन्दर्यसँगै मानव सम्बन्धलाई उभ्याउने प्रयास गरेको निर्माण पक्षको दाबी छ ।

चलचित्रमा धिरज, मिरुना र दियाका अलावा बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको पनि अभिनय रहेको छ ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको ‘मैझारो’ मा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत, मित्र डी गुरुङको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ । यस चलचित्रका गीतमा राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर छ ।

यसै चलचित्रमार्फत विल्सन विक्रम राईले पहिलो पटक लेखन र निर्देशनमा डेब्यु गर्दैछन् । यसअघि उनले ‘तक्मे प्रोडक्सन’ मार्फत फिल्म निर्माणमा संलग्न रहिसकेका थिए ।