सामाजिक सञ्जाल बन्द र भ्रष्ट्राचारविरुद्ध जेनजीको प्रदर्शनलाई कलाकारको साथ, कसले के लेखे ?

काठमाडौं । सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारी कदम र बढ्दो भ्रष्ट्राचारको विरोधमा जेनजीले सोमबार काठमाडौंमा प्रदर्शनको घोषणा गरेको छ ।

सोमबार काठमाडौंमा हुने प्रदर्शनलाई धेरै सेलिब्रेटीहरूले ऐक्यबद्धता जनाएका छन् । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले आफू जेनजीको आन्दोलनमा पूर्ण समर्थनमा रहेको बताएका छन् ।

बस्नेतले टिकटक भिडियो सार्वजनिक गर्दै आफू जेनजीको साथमा रहेको र सरकारको सामाजिक सञ्जाल बन्द गर्ने कदमको विरोधमा रहेकाे बताएका छन् । उनले देशको कानुन निसहाय र गरिब जनताको लागि मात्र लागु भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको कडा शब्दमा निन्दा गर्दै देशको कानुन शक्तिहीन र गरिब जनताका लागि मात्र लागु भएको टिप्पणी गरे । निश्चलले भ्रष्टाचारप्रति युवा पुस्ताको निराशा स्वाभाविक भएको बताउँदै यो आन्दोलन हुनैपर्ने बताए । उनले आफू पनि जेनजीको आन्दोलनमा सहभागी भई भ्रष्टाचारविरुद्ध आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अभिनेता अनमोल केसीले फेसबुकमा ‘स्टुडेन्ट एन्ड जेनजी अगेन्स्ट करप्सन’ लेखिएको एउटा पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौं । सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं । हाम्रो अधिकार कोही रोक्न सक्दैन । हाम्रो आवाज दबिँदैन ।’

अनमोलले जेनजीलाई आवाज उठाउने पुस्ता भन्दै भोलिको भेलालाई जेनजीको भविष्यसँग जोडेर अर्थ्याएका छन् । अभिनेता पल शाहले पनि अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले मुलुकको अवस्था झन् गम्भीर बनाएको भन्दै जेनजी आन्दोलनलाई समर्थन जनाएका छन् । उनले फेसबुकमार्फत शान्तिपूर्ण प्रदर्शनका लागि जेन-जी पुस्तालाई आग्रह गरेका छन् ।

गायक तथा अभिनेता प्रकाश सपूतले जेनजी पुस्ताका दुई युवा, सुनील र सचिनलाई आन्दोलनमा सहभागी हुन प्रोत्साहन गरेका छन् । उनले सामाजिक सञ्जालमा गरेको पोस्टमा जेनजी पुस्ताको नयाँ स्वरूपको आन्दोलन हेर्न आफू निकै उत्साहित रहेको बताएका छन् । सपूतले ती दुई युवालाई आन्दोलनमा जानका लागि गत महिना युट्युबबाट कर कट्टीपछि आएको २५/२५ हजार रुपैयाँ उनीहरूको खातामा पठाइदिएको जानकारी दिए । उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कार्यको पनि घोर भर्त्सना गरेका छन् ।

यो आन्दोलनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ व्यापक चर्चा पाएको छ र युवा पुस्तामा नयाँ उत्साह थपेको देखिएको छ । जेनजी पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध एकताबद्ध भई आवाज उठाउने यस कदमलाई धेरैले सकारात्मक रूपमा लिएका छन् ।

अभिनेत्री वर्षा सिवाकोटीले आन्दोलनको पोस्टर साझा गर्दै ‘साङ्लो तोड्नुस्, दाग हटाउनुस्’ भनेर उल्लेख गरेकी छन् । त्यस्तै अभिनेत्री नीति शाहले ‘जेनजी विद्रोह’लाई समर्थन जनाउँदै इन्स्टाग्राम स्टोरीमा एक पोस्ट साझा गरेकी छन् ।

अभिनेत्री दिव्या रायमाझीले अब चुप लागेर नबस्ने भन्दै ‘जेनजी विद्रोह’लाई परिवर्तनको दिशामा एउटा महत्त्वपूर्ण कदम भनेकी छन् ।

गायक शिव परियारले भोलिको आन्दोलन केवल आन्दोलन मात्रै नभएर नेपाली युवा जनमानसमा आएको चेतना भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘कुशासन, भ्रष्ट्राचार, दण्डहीनता लगायत शासकका नकरात्मक विषयको विरोधमा जेन जेड पुस्तामा आएको चेतनाको प्रतिबिम्ब हो यो ।’

अभिनेत्री केकी अधिकारीले पनि सामाजिक सञ्जालमार्फत आन्दोलनप्रति ऐक्यवद्धता जनाएकी छन् । त्यस्तै, गायिका ज्योति मगरले पनि जेन जी पुस्ताले गर्ने विरोधको समर्थन जनाउँदै सरकारको विरोध गरेकी छन् ।

यसका साथै अभिनेत्री आँचल शर्मा, ऋचा शर्मा, गायकहरू सञ्जय श्रेष्ठ, एकदेव लिम्बू, गायिका रचना रिमाल, कमेडियन सुजता श्रेष्ठ, कथावाचक साइग्रेस पोखरेललगायतले पनि जेनजी पुस्ताको आन्दोलनलाई ‘सामाजिक सञ्जालमाथिको हस्तक्षेप अस्वीकार्य भएको र युवा पुस्ताको आवाजलाई दबाउन नहुने’ भन्दै समर्थन जनाएका छन् । उनीहरूले यस आन्दोलनलाई लोकतन्त्र र स्वतन्त्रताका लागि महत्त्वपूर्ण कदम भनेका छन् ।