जेनजी आन्दोलन : कलाकारको आक्रोश, ‘हत्यारा सरकार राजीनामा दे’

काठमाडौं । सोमबार राजधानीमा भएको जेनजी पुस्ताको प्रदर्शनमा राज्यको दमनका कारण १८ जनाको ज्यान गएपछि कलाकारहरुले आक्रोश व्यक्त गरेका छन् ।
कलाकारहरुले सामाजिक सञ्जालमार्फत सरकारको कदमप्रति कडा आपत्ति जनाउँदै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।
अभिनेत्री ऋचा शर्माले आन्दोलनका क्रममा खिचिएका केही हृदयविदारक तस्वीर (रगताम्मे जुत्ता) सार्वजनिक गर्दै लेखेकी छन्, “ढल्दै गएको पुस्ताले उदाउँदै गरेको पुस्तामाथि दमन गरेको छ र देशभित्रै ज्वालामुखी फुट्दैछ । हत्यारा सरकार, भ्रष्ट सरकार, अलोकतान्त्रिक सरकार ।”
त्यस्तै, अभिनेत्री आँचल शर्माले इन्स्टाग्राम स्टोरीमार्फत सरकारलाई प्रश्न गर्दै भनिन्, “दिनदहाडै हत्या गर्नुलाई नियन्त्रण भन्छौ ? रगतले लतपतिएका तिमीहरुको अनुहारलाई इतिहासले हरेक दिन थुक्नेछ ।”
अभिनेत्री रेखा थापाले भने मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै जेनजी पुस्ताले उठाएको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् । उनले संविधान संशोधन गर्नुपर्ने आवश्यकता समेत जोड दिएकी छन् ।
अभिनेत्री वर्षा सिवाकोटी र लक्ष्मी वर्देबाले पनि ‘हत्यारा सरकार’ भन्दै कठोर शब्दमा विरोध जनाएका छन् ।
त्यस्तै, अभिनेता पल शाहले “न्याय र अधिकार खोज्दा ज्यान नै गुमाउनुपर्ने कठै मेरो देश” भन्दै दुख व्यक्त गरेका छन् । अर्का अभिनेता पुष्प खड्काले “जनता देशको सम्पत्ति भए पनि राज्यले कठपुतली बनाएको छ” भन्दै आक्रोश पोखेका छन् ।
निर्देशक तथा सांसद असिम शाह, निर्माता तथा निर्देशक सन्तोष सेन, ज्योतिष तथा अभिनेता हरिहर अधिकारी, अभिनेता दिव्यदेव पन्त, अभिनेत्रीहरु नीता ढुंगाना, नीति शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, आना शर्मा, सुहाना थापा लगायत दर्जनौँ कलाकारले जेनजी आन्दोलनमा भएको बर्बर दमनको सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।
कलाकारहरुले मृतकको परिवारलाई न्याय दिनुका साथै दोषीमाथि कडा कारबाही गर्न सरकारलाई चेतावनी दिएका छन् ।
जेन्जीले गरेको प्रदर्शनमाथि सरकारले गोलबारी गर्दा करिब दुई दर्जन नागरिकको ज्यान गएको छ । स्थिति नियन्त्रत्रणमा लिन सरकारले कर्फ्यु आदेश जारी गरेको छ ।