नेपाली भएकोमा यति लाज महसुस कहिल्लै गरेको थिइन्- राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले ‘जेन जी’ पुस्ताको आन्दोलनमा सरकारले गरेको दमन र युवाहरूको मृत्युपछि नेपाली हुनुमा आफूलाई लाज महसुस भएको जनाएका छन् ।

हमालले देशभरका युवाले परिवर्तन र अधिकारको माग गर्दै गरेको आन्दोलनमा राज्यको दमनका कारण धेरैले ज्यान गुमाएको समाचार बाहिर आएपछि उनले खुला टिप्पणी गरेका हुन् ।

सरकारले प्रतिबन्ध लगाएको फेसबुकमा सोमबार एक स्टाटस लेख्दै आफ्नो भावनालाई सार्वजनिक गर्दै अभिनेता हमालले देशले युवाहरूको वर्तमान खोसेको भन्दै दु:ख र आक्रोश व्यक्त गरे । साथै आजको दिनलाई नेपालको इतिहासमै सबैभन्दा पिडादायी दिनको रूपमा स्मरण गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्- ‘हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौं, उनीहरूको वर्तमानसमेत खोसिरहेका छौं । म विदेश यात्रा गर्दैछु । नेपाली भएकोमा यति लाज महसुस मैले कहिल्यै गरेको थिइन्।’

“हामी एउटा राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य दिन असफल भएका छौं । अझ पीडादायी कुरा त, हामीले उनीहरूको वर्तमानसमेत खोसिरहेका छौं । म अहिले विदेश यात्रा गर्दैछु, तर नेपाली भएकोमा यति ठूलो लाज मैले कहिल्यै महसुस गरेको थिइनँ । आजको दिन नेपालको इतिहासकै सबैभन्दा पिडादायी दिन बनेको छ ।”

सामाजिक सञ्जालमा हमालको उक्त भनाइ व्यापक रूपमा चर्चा र बहसको विषय बनेको छ । धेरैले उनको भनाइलाई समर्थन गर्दै यसलाई आम नेपालीको पीडा र असन्तोषको प्रतिनिधित्व गर्ने अभिव्यक्ति बताएका छन् ।

यसैबीच, जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाको परिवार शोकमग्न छन् भने मुलुकभर शोक र आक्रोश फैलिएको छ ।