मंगलवार क्यूएफएक्स सिनेमाजका सबै हल बन्द गर्ने घोषणा

काठमाडौं । सोमबार भएको जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक रूप लिन जाँदा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ । यस घटनापछि देशभर त्रास र शोकको वातावरण छाएको छ ।
आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रदर्शनरत चलचित्र र रिलिज हुन लागेका सिनेमाले प्रदर्शन स्थगन गरेका छन् ।
देशभर घटेको अकल्पनीय र दुःखद घटनापछि चलचित्र क्षेत्र पनि शोकाकुल बनेको छ । यही घटनाप्रति ऐक्यबद्धता जनाउँदै नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले मंगलवार आफ्ना सम्पूर्ण हलहरू एक दिनका लागि बन्द गर्ने घोषणा गरेको छ ।
२०२५ सेप्टेम्बर ९ (मंगलवार) मा सञ्चालन भइरहेका सबै क्यूएफएक्स हलहरू बन्द रहने क्यूएफएक्स सिनेमाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अकल्पनीय हिंसात्मक घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न र घाइतेहरूप्रति संवेदना प्रकट गर्न यस्तो निर्णय लिइएको जनाइएको छ ।
क्यूएफएक्सले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “हामी क्यूएफएक्स परिवार आज देखिएको अकल्पनीय त्रासदीबाट अत्यन्त मर्माहत भएका छौँ । आफ्ना प्रियजन गुमाएका परिवार, साथी र बालबालिकाप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।”
क्यूएफएक्सले यस दुखद घडीमा सम्पूर्ण नागरिकलाई आत्मचिन्तन गर्न, आपसी सहयोगमा एकजुट रहन र सुरक्षित रहन पनि आग्रह गरेको छ ।
यता, सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका छन् ।
