अभिनेत्री करिश्मा मानन्धरद्धारा एमाले त्यागेको घोषणा

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले त्यागेको घोषणा गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेत्री मानन्धरले आफू नेकपा एमालेसँगको आवद्धता अन्त्य गरेको घोषणा गर्दै अब कुनै पनि राजनीतिक दल वा संगठनसँग आबद्ध नरहेको स्पष्ट पारेकी हुन् ।
उनले फेसबुकमा लेखेकी छन्, “अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो । तर आजदेखि म कुनै राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।”
हालै काठमाडौंमा भएको जेनजी पुस्ताको विरोध प्रदर्शन हिंसात्मक बनेर १९ जनाको ज्यान गएको घटनापछि उनले दल त्यागको निर्णय सार्वजनिक गरेकी हुन् ।
यस्तै, अभिनेत्री मानन्धरले आफू निरन्तर जनताकै कलाकारका रूपमा रहन चाहेको प्रस्ट्याउँदै थपेकी छिन्, “म जनताकै कलाकार थिएँ, जनताकै आवाज थिएँ । आगामी दिनमा पनि त्यही रूपमा रहिरहन चाहन्छु ।”
अभिनेत्री मानन्धर केही वर्षअघि नेकपा एमालेमा प्रवेश गरेकी थिइन् ।