देशभरका सिनेमा हल बन्द, चलचित्र प्रदर्शनमा असर

काठमाडौं । गत सोमबारबाट सुरु भएको जेन-जी आन्दोलनले देशभरको सामाजिक जीवनसँगै मनोरञ्जन क्षेत्रमा पनि ठूलो असर पारेको छ ।
जेन-जी आन्दोलनले हिंसात्मक रूप लिँदा सोमबार नै भएको प्रदर्शनसँगैको झडपमा १९ जनाको मृत्यु भयो । त्यसको शोकमा मंगलबार नेपाल चलचित्र संघको आह्वानमा देशभरका सिनेमा हलहरू बन्द गरिएका थिए । संघले विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको जनाएको थियो ।
यता, मंगलबार आन्दोलनले थप हिंसात्मक मोड लिएकाले बुधबार पनि हलहरू बन्द नै रहेका छन् । यो विषम परिस्थिति सामान्य नहुँदासम्म हल सञ्चालन नहुने चलचित्र व्यवसायीहरूले बताएका छन् । मुलुकमा १६५ सिनेमा हल छन् ।
जेन-जी आन्दोलनको ठूलो प्रभाव रिलिजको तयारीमा रहेका र प्रदर्शनरत सिनेमालाई हरूमा पनि परेको छ । यस आन्दोलनका कारण ‘कोशेढुंगा’, ‘रिमै’, ‘गुन्यु चोलो’, ‘मोहर’ लगाएत प्रदर्शनरत चलचित्रहरू नराम्ररी प्रभावित भएका छन् ।
आन्दोलनका कारण मंगलबारबाट हल बन्द भएपछि गत शुक्रबार मात्रै रिलिजमा आएको नयाँ चलचित्र ‘रिमै’ को प्रदर्शन तीन दिनमै रोकिएको छ । यही शुक्रबार रिलिज हुने भनिएको अर्को नयाँ ‘अभिमन्यु’को प्रदर्शन नै स्थगन गरिएको छ ।
यस्तै, असोज ३ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘जारी २’ को भविष्य पनि अनिश्चित बनेको छ । मंगलबार यसको ट्रेलर रिलिज पनि आन्दोलनका कारण स्थगित गरिएको थियो, जसले तोकिएको मितिमा चलचित्र रिलिज हुनेमा शंका उत्पन्न गराएको छ ।
नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले स्थिति सामान्य नहुँदासम्म हलहरू पुनः सञ्चालन नहुने स्पष्ट पारेका छन् ।
“हामी अहिले ‘पर्ख र हेर’को अवस्थामा छौं । धेरै शहरमा अझै कर्फ्यु जारी छ र सेनाले नागरिकलाई घरमै बस्न आग्रह गरिरहेको छ । यस्तो बेला हल खोलेर कुनै फाइदा छैन,” उनले भने, “परिस्थिति पूर्ण रूपमा सामान्य भएपछि मात्र हल खुल्नेछन् ।”