उज्ज्वल भविष्यका लागि एकजुट भएर लागौं : हरिवंश आचार्य

काठमाडौं । अभिनेता हरिवंश आचार्यले देशको उज्ज्वल भविष्य निर्माणका लागि सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विचार सार्वजनिक गर्दै उनले हालैको जेन-जी आन्दोलनले भ्रष्टाचारविरुद्ध जनताको दृढ इच्छा प्रष्ट रूपमा देखाएको बताए ।
“नेपाली जनताको चाहना भ्रष्टाचारको जरै उखेल्नु हो । जेन-जी आन्दोलनले त्यसलाई उखेलिदिएको छ, तर अब पनि निरन्तर खबरदारी आवश्यक छ,” उनले लेखेका छन् ।
आचार्यले देशको सम्पत्ति र संरचनामा भएको क्षतिले सबै नेपालीको मन दु:खी बनेको उल्लेख गर्दै त्यसको पुनर्निर्माण र संरक्षणमा अब ध्यान दिनुपर्ने बताए ।
“त्यो सम्पत्ति कुनै एक व्यक्तिको थिएन, सारा नेपाली जनताको सम्पत्ति थियो। त्यसैले अब त्यसको पुनर्निर्माण र संरक्षणमा लाग्न जरुरी छ,” उनको भनाइ छ ।
उनले यसलाई संक्रमणकालीन अवस्था भन्दै बुद्धिमानी, धैर्य र संयमित ढंगले अघि बढे मात्रै भोलिको उज्ज्वल भविष्य सम्भव हुने बताए ।
“अब सबैले एकजुट भएर अघि बढ्नु जरुरी छ,” आचार्यले जोड दिए ।