‘कलाकार भएर जेनजी आन्दोलनमा लाग्छस् ? हिसाब राखिन्छ’ भन्दै धम्की आयो- दिपकराज गिरी

काठमाडौं । कलाकार तथा निर्माता दिपकराज गिरीले सामाजिक सञ्जालमार्फत आफू धम्कीको शिकार भएको बताएका छन् ।

जेनजी पुस्ताको आन्दोलनपछि केही दिनयता अज्ञात व्यक्तिहरूले कहिले इनबक्स मार्फत त कहिले फोनमार्फत धम्की दिने गरेको दाबी गरेका छन् ।

“जेनजीलाई उकास्ने तैं ? कलाकार भएर जेनजी तिर लाग्ने ? एक–एक हिसाब राखिन्छ,” भन्ने धम्की आइरहेको गिरीले सामाजिक सञ्जालमा लेखेका छन् । उनले तीमध्ये केही फोनकलहरू रेकर्डसमेत गरेर राखेको उल्लेख गरेका छन् ।

गिरीले भनेका छन्, “आन्दोलनको पहिलो दिन भ्रष्टाचारविरुद्धको जनआन्दोलनलाई शुभकामना दिँदा मैले शान्तिपूर्ण होस् भन्ने मात्रै कामना गरेको थिएँ । तर दोस्रो दिन स्कुल–कलेज जाने बालबालिकामाथि गोली चलेको दृश्य देख्दा चुप लागेर बस्न कसरी सकिन्थ्यो ?”

“त्यसपछि म मात्र होइन, मेरा धेरै कलाकार साथीहरूले समेत सामाजिक सञ्जालमा प्रतिक्रिया जनायौं । प्रधानमन्त्रीलाई हिंसा रोक्नका लागि राजीनामा दिनसमेत अनुरोध गर्यौं । धेरैजना त सडकमै उत्रिनुभयो । आन्दोलनपछि सरकारले ढिला गर्दै राजीनामा दिए पनि त्यसले हिंसा रोक्न सकेन। विभिन्न स्वार्थी समूह र पार्टी कार्यकर्ताहरू आन्दोलनमा मिसिएपछि तोडफोड, आगजनी र लुटपाटसम्म भयो । “त्यो बबण्डरले कसैलाई खुशी बनाएको थिएन, सबै नेपालीको मन भारी भएको थियो,” उनले थप लेखेका छन्।

कलाकारले आन्दोलनको क्रममा आफूहरूले निरन्तर शान्ति र संयमित हुन अपिल गरेको बताए । “जेनजीको आन्दोलन सफल भयो तर विध्वंसले कसैलाई सन्तुष्टि दिएन,” उनको भनाइ छ ।

तर पछिल्ला दिनमा केही व्यक्ति र समूहले सरकारपक्षीय शैलीमा सामाजिक सञ्जालमै ‘एक–एक हिसाब राखिन्छ’ भन्दै धम्कीपूर्ण पोस्ट गर्न थालेको गिरीले उल्लेख गरेका छन् ।

“२०४६ सालको आन्दोलनदेखि ६२/६३ को आन्दोलनसम्म म सडकमा तपाईंहरूसँगै उभिएको थिएँ । कुनै राजनीतिक लाभ लिएको छैन । यसपालि पनि भ्रष्टाचार र सुशासनको माग उठेका कारण मात्रै समर्थन गरेको हुँ । यदि त्यो अपराध हो भने, म पनि अपराधी नै हुँ,” उनले भनेका छन् ।

“यदि धम्की दिनेहरू सफल भए भने म पनि निर्दोष भएर पीडितहरूको सूचीमा थपिनेछु । होइन भने अब सबैले आ–आफ्नो गल्ती महसुस गरेर क्रान्ति–प्रतिक्रान्तिको कुरा छोडी मुलुक पुनः निर्माणको बारेमा सोच्नुपर्ने बेला आएको छ,” गिरीले अन्त्यमा भनेका छन् ।