‘घरज्वाइँ’ले दुई हप्तामा उठायो ४ करोड ६३ लाख

काठमाडौं । चलचित्र ‘घरज्वाइँ’ले दुई हप्ताको बक्सअफिस कलेक्सन सार्वजनिक गरेको छ । शुक्रबारबाट तेस्रो सातामा प्रवेश गरेको चलचित्रले दुई हप्ताको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

निर्देशक अनिल बुढा मगरका अनुसार दुई हप्तामा ४ करोड ६३ लाख रुपैयाँ चलचित्रले ग्रसकलेक्सन गरेको छ ।

उनले रिलिजको दुई दिनमा १ करोड ५१ लख ग्रसकलेक्सन गरेको रिपोर्ट सार्वजनिक गरेका थिए । १२ दिनमा ३ करोड १२ लाख ग्रस कलेक्सन गरेको निर्माता जनक घर्ती मगरले बताएका थिए ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको कथा पनि निर्देशक स्वयंले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन (खबपु)लगायत कलाकारको अभिनय छ ।