भोलिबाट पुनः प्रदर्शनमा आउँदैछन् यी सिनेमा

काठमाडौं । बन्द रहेका सिनेमा हल सोमबारबाट सञ्चालनमा आउने भएपछि प्रदर्शन रोकिएका सबै सिनेमाले निरन्तरता पाउने भएका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको कारण बन्द रहेका देशभरका सिनेमा हलहरू सोमबारबाट सञ्चालनमा आउने भएसँगै प्रदर्शन रोकिएका सिनेमा पुनः प्रदर्शनमा आउने भएका छन् ।
प्रदर्शन रोकिएका ‘गुन्यु चोलो’, ‘कोशेढुङ्गा’, ‘रिमै’, ‘माग्ने राजा’, ‘मोहर’,‘जनै हराएको मान्छे’लगायत चलचित्र प्रदर्शनमा आउने भएका हुन् । यी सिनेमा प्रदर्शन भइरहेका बेला सिनेमा हल बन्द भएपछि रोकिएका थिए ।
भदौ २७ गते रिलिज हुने तय भएको चलचित्र ‘अभिमन्यु’ भने पछि सरिसकेको छ । तर, कहिले रिलिज हुन्छ भन्ने तय भएको छैन ।
असोज ३ गते रिलिज हुने भनिएको चलचित्र ‘जारी २’ पनि पछि सरिसकेको छ । यो सिनेमा कात्तिक १४ गते रिलिज हुने भएको छ ।
आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सोमबारदेखि हल सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
तोडफोड र आगजानीबाट ध्वस्त हलबाहेकका १ सय ६४ वटै हल खुल्ने भएका छन् । राति १० बजेभित्र सिनेमा हल बन्द गर्ने गरी हलहरु सञ्चालनमा आउने भएको छ ।
आन्दोलनको दोस्रो दिन भौतिक संरचनामा तोडफोड र आगजनी हुँदा एउटा हल पूर्ण रूपमा जलेर ध्वस्त भएको छ भने चारवटा अन्य हलमा पनि क्षति पुगेको छ । कुल पाँचवटा हलमा गरी करिब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान संघले गरेको छ ।