समीर भट्टको दमदार एक्सन रहेको ‘बलिदान’को ट्रेलर देशभक्तिपूर्ण र भावनात्मक

काठमाडौं । चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । संविधान दिवसको अवसर पारेर निर्माणपक्षले शुक्रबार सार्वजनिक गरेको ट्रेलर एक्सनपूर्ण सिनले भरिपूर्ण रहेको छ ।

असोज १३ गते अर्थात् दसैँको फूलपातीको दिन रिलिज हुने चलचित्रको ट्रेलरमा एक छोराले आमा र देशको रक्षाका लागि गर्ने लडाइँको कथालाई प्राथमिकता दिइएको छ ।

ट्रेलरको सुरुवात एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन माग्ने दृश्यबाट हुन्छ । उनले छोरासँग, “देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्” भन्दै वचन मागेको दृश्यले ट्रेलरलाई भावनात्मक धरातल दिएको छ ।

समीर भट्टको द्वन्द्वका दृश्य रहेको ट्रेलर देश र आमामाथि अन्याय, अत्याचार गर्ने पात्रविरुद्ध मुख्य पात्रले गरेको संघर्ष देखाइएको छ ।

जहाँ समीरको एउटा संवाद छ,“मेरो शरीरको एक एक थोपा रगत माग दिन्छु। जे भन्नु छ मलाई भन सुन्छु। तर मेरो आमाको बारेमा केही भनिस् भने काट्दिन्छु ।”

ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र हेमन्त बुढाथोकी फरक अवतारमा देखिएका छन् । सौगात मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गरेका छन् भने समीर र सौगातबीचको द्वन्द्व विशेष आकर्षण बनेको छ ।

चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ ।

‘आसुसेन फिल्म्स प्रा.लि.’ को ब्यानरमा बनेको चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।