अस्कर छनोट प्रक्रियामाथि ‘गुन्योचोलो’ टिमको आपत्ति

काठमाडौं । ९८औं एकेडेमी अवार्ड (अस्कर अवार्ड) को नेपालबाट चलचित्र छनोट गर्ने छनोट प्रक्रियामाथि विवाद सुरु भएको छ ।

अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट चलचित्र ‘अञ्जिला’ सिफारिस भएपछि अर्को प्रतिस्पर्धी चलचित्र ‘गुन्योचोलो : द ड्रेस’ को टिमले पत्रकार सम्मेलनगरेरै असन्तुष्टि व्यक्त गरेको हो ।

अन्तर्राष्ट्रिय फिल्म छनाेट समितिले आवेदन आह्वान गर्दा जम्मा दुई चलचित्र ‘अन्जिला’ र ‘गुन्युचोलो’ले आवेदन दिएका थिए । जसमा, छनोट समितिले मिलन चाम्स निर्देशित ‘अञ्जिला’लाई सिफारिस गरिएको घोषणा भएलगत्तै ‘गुन्योचोलो’ टिमले समितिमाथि पारदर्शिता नअपनाएको आरोप लगाउँदै आपत्ति जनाएको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकी निर्देशक समुन्द्र भट्टले समितिको निर्णय खारेज हुनुपर्ने माग गरिन् । उनले भनिन्, “यो निर्णय खारेज हुनैपर्छ । सिफारिसका लागि छनोटको कार्यविधि सार्वजनिक गरिएको छैन । ल्यापटपमा फिल्म हेर्ने परिपाटी अन्त्य हुनुपर्छ । समितिमा भाषा, अन्तर्राष्ट्रिय बजार र मापदण्ड बुझ्ने योग्य व्यक्ति हुनुपर्छ ।”

निर्देशक भट्टले समितिमा रहेका कोही पनि सदस्य त्यसका लागि योग्य नभएको दाबी गरिन् । उनका अनुसार, ‘गुन्योचोलो’ अस्कर लक्षित फिल्म हो र यसको साउन्ड डिजाइन अस्करमा मनोनयन भइसकेका मार्सेलो डी फ्रान्सिस्कीमार्फत गरिएको हो ।

समितिका एक सदस्यले फिल्म नै नहेरी निर्णय गरेको आरोप लगाउँदै उनले भनिन्, “अञ्जिलासँग मेरो दुश्मनी छैन, तर समितिभित्र धेरै राजनीति भयो । त्यसको सिकार म भएँ । मेरो जीवन हो ‘गुन्योचोलो’, वर्षौं लगाएर अस्करकै लागि फिल्म बनाएको हुँ ।”

चलचित्रलाई सही तरिकाले हलमा नहेरी ल्यापटपमा हेरिएको थियो भने छनोट समितिमा रहेका सदस्यको स्वार्थ पनि बाझिएको थियो । ‘ओस्कारका लागि विशेष साउन्ड र कलर मिलाएर बनाएको फिल्म ल्यापटपमा हेर्दा त्यसको वास्तविक गुणस्तर कसरी थाहा हुन्छरु’ उनले भनिन्, ‘हामीले प्रोजेक्टरमा फिल्मको रङ नै फरक देखिएको छ भन्दा निर्णायकहरूले ‘हामी बुझिहाल्छौँ, तपाईं ढुक्क हुनुहोस्’ भन्नुभयो। यो सरासर अन्याय हो ।’

‘गुन्युचोलो’का लेखक तथा अभिनेता नाजिर हुसेनले पनि समितिको संरचना र निर्णय प्रक्रियामाथि प्रश्न उठाए । उनले भने, “समितिका एक सदस्य अमेरिकामै हुनुहुन्छ, उहाँले फिल्म नहेरी निर्णय गर्नु कति जायज हो? मिडिया कोअर्डिनेटर रहेको समितिबाट आफ्नै फिल्म सिफारिस हुनु कति उचित हो ?”

हुसेनले निर्णयमा नियतमाथि शंका गर्ने ठाउँ रहेको उल्लेख गर्दै पारदर्शी प्रक्रिया अनिवार्य हुनुपर्ने बताए ।

आफूहरुको फिल्म छनोट भएन भन्ने भन्दा पनि छनोट समितिको नियतमा आफूहरुले प्रश्न गरेको नाजिरको भनाइ छ । शक्तिको दुरुपयोगमाथि आफूहरुले प्रश्न उठाएको उनले बताए । आफूहरुलाई जति थिच्न खोजिन्छ, उत्ति चर्किने बताए ।

यसैबीच, चलचित्र ‘राजागञ्ज’का निर्देशक दीपक रौनियारले ओस्कारका लागि आवेदन खुलेको आफूले थाहै नपाएको बताएका छन् । यसवर्ष नै रिलिज भएको चलचित्र ‘भूठान’का निर्देशक विनोद पौडेलले पनि अस्कर कमिटीको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।