तीजका गीतको चीरहरण नगरौँ न !
नेपालीमा एउटा उखान छ– जो मुखिया उही बाटो… । सन्दर्भ हो तीज गीतको । र, तीज गीत गाउने कलाकारको । अहिले तपाईं-हामीले औधी रुचाएका गायक गायिका को हुन् ?
स्वाभाविक हो– शान्तिश्री परियार, प्रीति आले, शिव परियार आदि । तर, यिनै कलाकारले चाहिँदो/नचाहिँदो गीत गाउँदै हिँडे भने के हुन्छ ? प्रष्टै छ त, अहिले जे भइरहेको छ, त्यही हुन्छ ।
त्यसो भए के भइरहेको छ ? तीज गीतका नाममा संगीनी सुई र विस्ताराले पोल्यो, बिहे अघि दिन्छु र दिन्नजस्ता गीत आइरहेका छन् । शिव परियारको सन्दर्भमा त केही समय अगाडि नै चर्चा भइसकेको छ ।
तीज हिन्दु नेपाली महिलाको मौलिक पर्व हो । नेपालीको संस्कृति हो । यो हाम्रो आफ्नै मौलिक संस्कृति र पहिचान हो । आम नेपाली हिन्दु महिलाको महान् पर्व हो ।
तर अहिले तीज गीतले नै नेपाली पहिचान र संस्कृतिमाथि धावा बोलिरहेका छन् । जो आमजनमा लोकप्रिय छ । रेकर्डिङ र स्टेज कार्यक्रममा व्यस्त छ । जो समाजको आदर्श हो, उसैले तीजको मौलिकता नै खलबलिने गीत गाइरहेको छ ।
अश्लील, अपाच्य र सुन्नै नसकिने गीत गाइरहेका छन्, जसले मौलिक संस्कृतिमाथि नै प्रहार भइरहेको छ ।
अर्को एउटा नेपाली उखान यहाँनेर सान्दर्भिक होला– आशलाग्दो केटो जेठाजु पर्यो । अथवा जसबाट आशा र भरोसा थियो, उसैबाट त्यो पूरा भएन ।
हो, अहिले यस्तै भइरहेको छ । बजारमा सबैभन्दा धेरै रुचाइएको र डिमान्ड भएका गायिकाहरू नै तीजका नाममा विकृत गीत गाइरहेका छन् । दोहोरो अर्थ लाग्ने, अश्लील र परिवारसँग बसेर सुन्नै नसकिने गीत गाइरहेका छन् ।
महिलाको पर्व हो तीज । त्यसैले अधिकांश गीत पनि महिलाले नै गाउने नै भए । गाइरहेका छन् । तर पुरुषभन्दा महिलाले गाएका गीतमा झन् ठूलो समस्या देखिएको छ ।
यो वर्ष सव्य र शालीन तीज गीत आउने क्रममा ब्रेक लाग्यो । जबकि दुई-तीन वर्ष अगाडिबाट केही राम्रा तीज गीत आएका थिए ।
अपाच्य, अश्लील र संस्कृतिमाथि नै मजाक उडाउने गीत आउन थालेका छन् यो वर्ष एकपछि अर्को यस्ता गीत आइरहेका छन्, जो न तीजको न झल्को दिन्छन्, न मर्यादित र सभ्य छन् ।
यस्ता गीत गाउनेमा लोकप्रिय कलाकार नै छन् । जसलाई स्टेज र रेकर्डिङमा भ्याइनभ्याइ छ, उसैले अश्लील र अपाच्य शब्द भएका गीत गाइरहेका छन् । यसको उदाहरणका रूपमा शान्तिश्री परियार र प्रीति आलेलाई लिन सकिन्छ ।
‘गुलेली तन्कियो गाउँमा मादल रन्कियो’, ‘दिउँला बरी लै’, ‘ विस्तराले पोल्यो’, ‘मादलु घन्काउँदै’ जस्ता अश्लील र द्विअर्थी शब्द भएका गीत आएका छन् । यीमध्ये ‘ विस्तराले पोल्या’ र ‘गुलेली तन्कियो गाउँमा मादल रन्कियो’मा शान्तिश्री परियारको स्वर छ ।
‘गुलेली तन्कियो गाउँमा मादल रन्कियो’ बोलको द्विअर्थी शब्द भएको गीतको भिडियोमा राजेश हमालले अभिनय गरेका छन् । राजेश जसलाई महानायक भनिन्छ । यही अनुसारको उनको सम्मान छ ।
‘मादलु घन्काउँदै’मा प्रीति आलेको स्वर छ । यसको विवादित शब्द हटाइएको छ । तर, सुरुमा विवादित शब्द थियो । विवादित शब्दका कारण महिला भएर महिलाकै अपमान गरेको भन्दै प्रीतिको आलोचना भएको थियो ।
‘विस्तराले पोल्यो’ जस्तो द्विअर्थी शब्द भएको गीत शान्तिश्रीले गाएकी छन् । यो गीतको भिडियो अश्लील छ । त्यसैले शान्तिश्रीको आलोचना भइरहेको छ ।
मौलिक परम्परा र संस्कृति नै धमिल्याउने काम गरेको भन्दै उनीहरूको टिप्पणी भइरहेको छ ।
‘लोग्ने विदेश छ भनेर टोलमा फुइँ लाउँछे, फेरि किन त्यसका बाजे तीन महिने सुई लाउँछे ।’ भन्ने गीत प्रीति आलेले गाएकी छन् । महिला भएर महिलाकै अपमान गरेको भएन र यो ? परिवारलाई घरमा छोडेर विदेश गएका आफन्तले यो गीत सुनेर के बुझ्ने ?
शब्द अरूकै होला, ठिक छ, तर गाउने कलाकारलाई पनि त गीत छान्ने अधिकार त छ । मन परेन र चित्त बुझेन भने गाउँदिन भन्न सक्ने विकल्प छ । जिम्मेवार व्यक्तिले गर्ने पनि यही नै होला ।
समाजमा बसिसकेपछि नैतिकताको पनि त ख्याल गर्नुपर्छ । त्यसमा पनि सार्वजनिक व्यक्ति भएपछि अझै धेरै सचेत र जिम्मेवार हुनुपर्छ । आफ्नो अधिकार मात्रै होइन दायित्व बोध पनि हुनुपर्छ ।
तीजमा सुख, दुःखका गीत पक्कै आउँछन् । गीतमा निराशा, खुसी पक्कै हुन्छ । चेलीका वेदना र पीडा हुन्छ नै । ‘विस्तराले पोल्यो’ चाहिँ कसरी तीज गीत भयो । यस्तो गीत नछान्न शान्तिश्रीलाई कसले रोक्यो ? किन उनी जस्तोपायो उस्तै गीत गाइरहेकी छन् ? शान्तिश्री तिनै गायिका हुन्, जसलाई अहिले लोक होस् वा आधुनिक अथवा चलचित्रका गीत । उनलाई भ्याइनभ्याइ छ । पहिलो रोजाइको गायिका भएर रेकर्डिङ गरिरहेकी छन् । स्टेजमा प्रस्तुति दिइरहेकी छन् ।
शान्तिश्री र प्रीति दुवै अहिले रुचाइएका गायिका हुन् । देशविदेशका कार्यक्रमदेखि कलेक्सन एल्बममा व्यस्त गायिका हुन् । यो आफ्नो माग र दर्शकले दिएको माया र सम्मानको इज्जत उनीहरू स्वयंले राख्न सक्नुपर्छ ।
‘विस्तारले पोल्यो’ गीतको भिडियोले नेपालीको मौलिक संस्कृतिलाई कसरी प्रतिनिधित्व गर्यो ? गीतको भिडियो यस्तो बन्दा गाउनेले किन यस्तो भनेर चासो देखाउनु पर्दैन ? हुन त शब्दसँग त सरोकार नराख्नेले भिडियोको किन चिन्ता गर्थे र ।
एकातिर हामी आफ्नै मौलिक पर्व भनेर तीजलाई लिएर गर्व गरिरहेका छौँ, अर्कोतिर मौलिकताका नाममा तीजको चीरहरण गरिरहेका छौँ । कहिले तीन महिना अगाडिदेखि दर खाँदै त कहिले अश्लीलताको पराकाष्ठ नाघेर गीत र भिडियो बनाइरहेका छौँ । यस्तो तीज र तीज गीत देखेको अहिले हुर्कीदै गरेको पुस्ताले तीजलाई कस्तो पर्वका रूपमा बुझ्छ ?
समाजले अग्रज र आइडल मानेका व्यक्तिले युट्युबबाट केही सीमित आयआर्जनको लोभमा गरिने गलत अभ्यासले नेपाली समाज गलत बाटोतर्फ हिँडिरहेको छ । सस्तो लोकप्रियताको लोभले हाम्रो संस्कृति नै धमिल्याउने काम भइरहेको छ ।
यसले अन्ततः समाजलाई लैजाने गलत बाटोतर्फ नै हो । पहिचानको रूपमा रहेको संस्कृतिको घाँटी निमोठ्ने नै हो । त्यसैले यो अभ्यास र गन्तव्यको अभ्यास नगरौँ । आफ्नै पहिचानलाई नामेट बनाउने बाटोतर्फ अग्रसर नहौँ । आफ्नो संस्कृति आफैँ जगेर्ना गरौँ ।