‘युगदेखि युगसम्म’ पुस्तक लोकार्पण गर्दै हमालले भने ‘कसैलाई नभनेका कुरा पनि खुलाएको छु’

काठमाडौं । नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालको जीवन र ३५ वर्षे सिनेमा यात्रालाई समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ लोकार्पण भएको छ ।

शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा कार्यक्रमको आयोजना गर्दै अनिभेता हमाल स्वयं, उपन्यासकार बुद्धिसागर, पत्रकार तथा लेखक यज्ञश र हमालकी पत्नी मधु भट्टराईले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकमा राजेश हमालको बाल्यकालदेखि हालसम्मका व्यक्तिगत भोगाइहरू, सफलता-असफलताका पाटाहरू र सामाजिक विचारहरूलाई गहिराइमा प्रस्तुत गरिएको छ ।

पत्रकार यज्ञशसँगको सहकार्यमा करिब तीन वर्ष लगाएर तयार पारिएको यो यस पुस्तक हमालका प्रशंसकहरूका लागि एउटा विशेष कोसेली बनेको छ ।

लोकार्पण समारोहमा बोल्दै राजेश हमालले देशको वर्तमान परिस्थितिबारे चिन्ता व्यक्त गरे । उनले भने, “देशमा नयाँ बिहानी आइसकेको छ, तर घाम झुल्किनसकेको अवस्था छ ।” पुस्तकमा आफूले निकै खुलेर आफ्ना भावना र अनुभवहरू बाँडेको बताउँदै हमालले ठट्यौली पारामा भने, “यज्ञशजीसँग म यसरी खुलेको छु, सायद म त्यति त मधुसँग पनि खुलेको छैन कि ?”

यसमा फिल्म, समाज र राजनीतिसँग सम्बन्धित विषयसँगै आफूले कसैलाई नभनेका गोप्य कुराहरू पनि खुलाएको बताए । ‘यसमा मेरो बाल्यकालदेखि परिवारका पनि कुरा छन्,’ उनले भने, ‘यो पुस्तक पढ्दा मलाई आफ्नो सम्पूर्ण जीवन फेरि फर्केर हेरेको र त्यही जीवन पुनः जिएको जस्तो महसुस हुन्छ ।’

कार्यक्रममा उपन्यासकार बुद्धिसागरले पुस्तकले राजेश हमाललाई बुझ्ने एउटा नयाँ र फराकिलो आयाम दिने बताए । उनले भने, “राजधानीको एउटा पत्रिकामा काम गर्दा मैले राजेश हमालको अन्तर्वार्ता लिएको थिएँ। त्यसपछि मैले उहाँलाई नजिकबाट देखिरहेको छु । यस पुस्तकमा उहाँका थुप्रै पाटा आएका छन्, यो पठनीय छ ।”

यज्ञशले पुस्तक लेखनमा हमालसँगको सहकार्य विशेष रहेको र तीन वर्षको मिहिनेतले एउटा उत्कृष्ट कृति तयार भएको बताए । हमालकी पत्नी मधु भट्टराईले पनि पुस्तकले राजेश हमाललाई अझ गहिराइमा बुझ्न मद्दत गर्ने धारणा राखिन् ।

प्रकाशक नीरज भारीले ‘युगदेखि युगसम्म’ लाई बहुप्रतीक्षित र महत्वाकांक्षी साहित्यिक घटनाका रूपमा चित्रण गरे । उनले लामो समयको प्रतीक्षापछि पाठकहरूलाई एउटा गजबको कोसेली दिन पाएकोमा खुसी व्यक्त गरे । यसअघि हमालको जन्मदिनमा पुस्तकको आवरण अनावरण गरिएको थियो । लोकार्पण समारोहमा उपस्थित भई नाम दर्ता गराउने पहिलो २५ जनालाई हमालको हस्ताक्षरसहितको पुस्तक उपहार दिइएको थियो ।