karsang
Close Me

‘कार्साङ’को छायांकन सुरु

चलचित्र ‘कार्साङ’को छायांकन सुरु भएको छ । यम शेर्पाले निर्देशनमा निर्माण हुन लागेको सिनेमाको मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पुजा गरि छायांकन थालिएको हो ।

सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्र ‘कार्साङ’को छायांकन सेड्युल लगातार एक महिनाको राखिएको निर्देशक शेर्पाले जानकारी दिए । यसअघि थुप्रै छोटा चलचित्रको निर्देशन गरिसकेका निर्देशक यम शेर्पालेको यो डेब्यू निर्देशन सिनेमा हो । चलचित्रमा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ ।

बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको चलचित्रको मुख्य कलाकारमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै सिनेमामार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन्।

सृजनाले केही म्युजिक भिडिओमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही सिनेमा र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् ।

सिनेमामा माओत्से गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोही थापा, कर्मा शेर्पा, छुकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ ।

यस चलचित्रका निर्माता पुरुषोत्तम प्रधान हुन् । सिनेमामा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह-निर्माता रहेको सिनेमाका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।

मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोख संगीत निर्देशक रहने सिनेमाको मुख्य सह-निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह-निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् ।

सिनेमाको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले बताएको छ । सिनेमाको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।