तिहारका सदाबहार फिल्मी गीतहरू : हरेक वर्ष फर्किन्छ नोस्टाल्जिया
काठमाडौं । तिहार नेपालीको प्रिय र रंगीन पर्व हो । दीपावली, दाजुभाइको माया र देउसी–भैलोको उल्लासले भरिएको यो पर्वले हरेक वर्ष घर–आँगन उज्यालो बनाउँछ । यही बेला गीत–संगीतको संसार पनि रौनकिलो बन्ने गर्छ । हरेक वर्ष नयाँ–नयाँ तिहार गीत सार्वजनिक भए पनि दर्शक–श्रोताको मनमा भने पुराना फिल्मी गीतको जादु अझै कायम छ । यी सदाबहार गीतहरूले तिहारको माहोललाई अझ भावनात्मक र स्मरणीय बनाउँछन् ।
यो पर्वमा जब पुराना फिल्मी गीतहरू घन्कन्छन्, तब तिहारको असली रमझम र आत्मा जीवन्त बन्छ ।
तिहारमा बर्सेनि घन्किने केही अविनाशी फिल्मी गीतहरू
‘तिहारै आयो, लौ झिलिमिली’ – फिल्म ‘स्वर्ग’
तिहार नजिकिँदै गर्दा सबैभन्दा धेरै बज्ने गीत हो – ‘तिहारै आयो, लौ झिलिमिली’। शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’ को यो गीतले तिहार आउँदैछ भन्ने आभास दिलाउँछ । यादव खरेलको शब्दमा शम्भुजीत बाँस्कोटाको संगीत र लोचन भट्टराई तथा नूतन प्रधानको स्वर रहेको यस गीतमा अभिनेत्री गौरी मल्ल फिचर्ड छिन् । देउसी खेल्नेहरूले हरेक वर्ष यही गीतबाट देउसी सुरुवात गर्ने परम्परा बसिसकेको छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ ।
‘दियो बाली साँझको…’ – फिल्म ‘चिनो’
तुलसी घिमिरे निर्देशित सुपरहिट फिल्म ‘चिनो’ को यो गीत तिहारको प्राण समान मानिन्छ । ‘दियो बाली साँझको’ घन्किनासाथ तिहारको झिलिमिली वातावरण घर–घरमा फैलिन्छ । कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत र आशा भोस्लेको स्वरमा तयार यो गीतमा स्वर्गीय सुभद्रा अधिकारी र केशव भट्टराई फिचर्ड छन् । दशकौं बितिसक्दा पनि यो गीतले तिहारको आत्मा बोकेको अनुभूति गराउँछ ।
‘निधारैमा लर्काएर सप्तरंगी टीका’ – फिल्म ‘विजय पराजय’
दाजाभाइ र बहिनीबीचको माया–स्नेह झल्काउने अर्को लोकप्रिय गीत हो – ‘निधारैमा लर्काएर सप्तरंगी टीका’। निर्देशक राजेन्द्र सलभको फिल्म ‘विजय पराजय’ मा समावेश यो गीत दिनेश अधिकारीको शब्द, शम्भुजीत बाँस्कोटाको संगीत र हेमलताको स्वरमा तयार गरिएको हो । गीतमा भुवन केसी, कृष्ण मल्ल, र रुपा राणा फिचर्ड छन् । यसले तिहारमा दाजाभाइ र बहिनीबीचको ममता झल्काउँछ ।
‘हाँसेर बोल बहिनी तिहारको बेलैमा’ – फिल्म ‘माइती’
तिहारको अर्को भावनात्मक र चर्चित गीत हो – ‘हाँसेर बोल बहिनी तिहारको बेलैमा’। निर्देशक अनिल संग्रौलाको फिल्म ‘माइती’ मा समावेश यस गीतमा लक्ष्मणको संगीत, र स्वरमा आनन्द कार्की, उदित नारायण झा, दीपा झा, र नगेन्द्र श्रेष्ठ रहेका छन् । स्वर्गीय श्रीकृष्ण श्रेष्ठ र निरुता सिंह फिचर्ड गीतले रिसाएकी बहिनीलाई दाजुले फकाउने भावनात्मक दृश्य प्रस्तुत गर्छ ।
‘अधरमा आज उनकै छ गीत’ – फिल्म ‘अन्याय’
तुलसी घिमिरे निर्देशित फिल्म ‘अन्याय’ को यो गीत पनि तिहारको भावनासँग गहिरो सम्बन्ध राख्छ । मनिला सोताङको आवाजमा रहेको ‘अधरमा आज उनकै छ गीत’ मा टीका लगाउने र दाजाभाइबीचको आत्मीयता दर्शाइएको छ ।
‘यसपालिको तिहारै रमाइलो’ – फिल्म ‘कोहिनूर’
नयाँ पुस्तामाझ पनि लोकप्रिय गीत हो – ‘यसपालिको तिहारै रमाइलो’। निर्देशक आकाश अधिकारीको फिल्म ‘कोहिनूर’ मा समावेश यो गीतले आधुनिक शैलीमा तिहारको खुशी प्रस्तुत गर्छ । गीतमा भाइटीकाको उल्लास, देउसी–भैलोको रौनक र परिवारको ममता एकै साथ मिसिएको छ ।
यी सबै गीतहरूले नेपाली समाजमा तिहारको सांस्कृतिक महत्त्व मात्र होइन, पारिवारिक सम्बन्धको गहिराइ पनि उजागर गर्छन् । नयाँ गीतहरू आउँछन्, ट्रेन्ड बदलिन्छ । तर, तिहारको बेला जब यी पुराना धुनहरू बज्न थाल्छन्, तब समय रोकिएझैँ लाग्छ—र पुरानो स्मृति, माया र उज्यालो सँगै फर्किन्छ ।



