पहिलोपटक स्क्रिन सेयर गर्दै निखिल र वर्षा
काठमाडौं । एक्सन नायक निखिल उप्रेती र वर्षा शिवाकोटी एक साथ एकै चलचित्रमा देखिने भएका छन् । उप्रेती र शिवाकोटी मुख्य भूमिकामा रहने नयाँ नेपाली चलचित्र ‘कस्तुरी’ निर्माण हुने भएको छ ।
आइतबार निर्माण टिमले फिल्म निर्माणको औपचारिक घोषणा गरेको छ । विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै आएका धिरज अग्रवालले अब चलचित्र निर्माणमा लगानी गर्ने भएका छन् । उनले निर्माताको रूपमा टेन इन्टरटेनमेन्ट प्रालि ब्यानरबाट ‘कस्तुरी’ निर्माण गर्ने भएका छन् ।
ऋत बोहोराको कथा र निर्देशन रहने यो चलचित्रमा सस्पेन्स थ्रिलर विधामा निर्माण हुनेछ । उनका अनुसार चलचित्रमा रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत हुनेछ ।
चलचित्रले मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रजस्ता विषय समेट्ने निर्देशक बोहोराले बताए ।
निखिल उप्रेती र वर्षा शिवाकोटी पहिलो पटक पर्दा सेयर गर्ने भएका छन् । चलचित्रमा निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्मा पनि अभिनय गर्नेछन् ।
चलचित्रलाई ब्रजेश खनालले लेखेका छन् । निर्माता धिरजकुमार अग्रवाल हुन् भने सह–निर्मातामा अञ्जली चौधरी रहेकी छन् । छायांकन आलोक शुक्लाले गर्नेछन् ।
संगीत प्रशान्त शिवाकोटीले गर्नेछन् भने गीत लेखन युवराज काफ्लेको हुनेछ ।
निर्माण पक्षका अनुसार ‘कस्तुरी’को छायांकन मंसिरदेखि काठमाडौं र आसपासका क्षेत्रमा सुरु हुनेछ ।



