सौगात र सृष्टि स्टारर ‘भाईरल गोर्खे’को नयाँ प्रदर्शन मिति घोषणा

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘भाईरल गोर्खे’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

यसअघि भयालेनटाइन डेको अवसर पारेर यो सिनेमाको पहिलो झलक सार्वजनिक गर्दै गत जेठ ३० गतेलाई प्रदर्शनमा आउने जानकारी दिइएको थियो भने करिब छ मिहिनाअघि टिजर समेत सार्वजनिक भइसकेको थियो ।

अब यो चलचित्र माघ १ गते रिलिज हुने निर्माण टिमले जनाकारी गराइएको छ ।

चलचित्र ‘भाईरल गोर्खे’ले सामाजिक सञ्जालको प्रभाव, भाइरल प्रवृत्ति र यसको मनोवैज्ञानिक असरलाई दर्शाउन खोजेको बुझाउँछ ।

निर्माण टिमले आज सार्वजनिक गरेको नयाँ पोस्टरमा चलचित्रका मुख्य दुई पात्र सौगात मल्ल र सृष्टि श्रेष्ठ फिचर्ड छन् । जसमा उनीहरुलाई रोमान्टिक भावमा देखाइएको छ ।

छेउमा ‘बतासले उडाई लग्यो माया मेरो’ लेखिएको छ । यसले दुई पात्रबीचको प्रेम दर्शाउँछ । ‘बतासले उडाई लग्यो माया मेरो’ बोलको गीत आज सार्वजनिक हुँदैछ ।

पोस्टर लाइक, लभ रियाक्ट र इमोजी छ, जसले सामाजिक सञ्जालमा भाइरल हुने रहर र यसमा समर्पित हुने मोहलाई दर्शाउँछ । फलोइङ फर यू लेखिएको छ र मोबाइलको फ्रेमभित्र रहेका सौगात र सृष्टि टिकटक वा रिल्स बनाइरहेको जस्तो देखिन्छ ।

निर्देशक श्रेष्ठका अनुसार चलचित्र ‘भाईरल गोर्खे’ले पछिल्लो समयमा नेपालमा मौलाउँदै गएको भाइरल प्रवृत्तिलाई व्यंग्य गर्दै यसका प्रभाव र परिणाम उजागर गर्नेछ । रोगकै रूपमा विकास भइरहेको यो ट्रेन्डलाई समाएर बनेको सिनेमाले समसामयिक र जल्दोबल्लो विषय उठान गरेको छ । त्यसैले यो सिनेमाले दर्शकको मन जित्नेमा निर्माण टिम ढुक्क छ ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको यस चलचित्रमा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल मुख्य भूमिकामा रहेका छन् । सिनेमामा पत्रकार ऋषि धमलाले पनि अभिनय गरेका छन् ।

चलचित्र ‘भाईरल गोर्खे’का निर्माता विशाल ताम्राकार, महेश लामिछाने, केवल जंग कुँवर हुन् भने भुवन अधिकारी र निखिल पौडेल सह-निर्माताको भूमिकामा रहेका छन् ।

अमर महर्जनको छायांकन रहेको ‘भाईरल गोर्खे’ लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनका विभिन्न स्थानमा छायांकन गरिएको हो ।