‘जेरी अन टप’ अनमोलको करियरकै सबैभन्दा धेरै कमाउने चलचित्र बन्ला ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा अनमोल केसीको लोभलाग्दो नाम छ । युवा पुस्तामा उनको राम्रो क्रेज छ । त्यसैले उनमा स्टारडम रहेको स्वीकार्ने धेरै छन् ।
स्टारडम रहेको विश्वासमा उनलाई ५० लाख पारिश्रमिक दिन पनि निर्माताहरू तयार छन् । उनले ५० लाख पारिश्रमिकमा काम गरेको थुप्रै भइसक्यो ।
उनमा स्टारडम छ पनि किन भने अपबादलाई छोड्ने हो भने एक दशकको यो सिनेमा यात्रामा उनका चलचित्रको इनिसियल व्यापार राम्रो देखिन्छ । ‘छड्के–२’लाई छोड्ने हो भने उनका अधिकांश चलचित्रको इनिसियल कलेक्सन राम्रो देखिन्छ ।
अहिले प्रदर्शन भइरहेको चलचित्र ‘जेरी अन टप’को पनि इनिसियल कलेक्सन राम्रो छ । निर्माणपक्षले दिएको जानकारी अनुसार यो चलचित्रले घरेलु बक्सअफिसमा पाँच दिनमा तीन करोडभन्दा माथि ग्रसकलेक्सन गरिसकेको छ ।
चलचित्रहरूको बाक्लो भीडमा यो कलेक्सन नराम्रो होइन । यही गतिलाई निरन्तरता दिने हो भने यो चलचित्रले राम्रो कलेक्सन गर्ने निश्चित छ ।
अनमोलको दश वर्षे करियरमै सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्र बन्ने प्रवल सम्भावना छ । किन भने अनमोलको स्टारडम र उनका सिनेमाको गज्जवको हाइप हुने गरे पनि र इनिसियल कलेक्सन राम्रो हुने गरे पनि बक्सअफिसमा ठूलो आंकडा भने उनका सिनेमाले गर्न सकेका छैनन् । किनकी इन्ड अफ द डे चल्ने स्टारडम होइन कन्टेन्ट हो ।
चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार अनमोलको गत वर्ष रिलिज भएको चलचित्र ‘फर्की फर्की’ले ४ करोड ८४ लाख कलेक्सन गरेको थियो । यो सिंगल थिएटर बाहिरको कलेक्सन हो ।
तर, बोर्डको कलेक्सन रिपोर्ट हेर्ने हो भने अनमोलका कुनै पनि सिनेमाले हालसम्म ५ करोडका आंकडा पार गर्न सकेका छैनन् । किन भने गत वर्ष बोर्डले आफ्नो २५ वर्षगाँठ मनाउँदा पाँच करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने २५ वटा चलचित्रलाई सम्मान गरेको थियो । तर, ती २५ चलचित्रको सूचीमा अनमोलका कुनै पनि चलचित्र परेका थिएनन् ।
त्यसैले अनमोलको ‘जेरी अन टप’ उनको करियरकै बक्सअफिस रिपोर्टमा पाँच करोड रुपैयाँ कटाउने पहिलो सिनेमा र सबैभन्दा धेरै कमाउने चलचित्र बन्ने सम्भावना छ ।
असोज ३१ गतेबाट रिलिज भएको चलचित्रमा अनमोल मुख्य भूमिकामा छन् । तिहारको अवसर पारेर गत शुक्रबारबाट रिलिज भएको चलचित्रलाई राम्रो वर्ड अफ माउथ मिलेको छ । हिमालको दृश्य र अभिनय मन परेको पब्लिक रिभ्यू सिनेमाले पाइरहेको छ ।
‘जेरी अन टप’लाई सुयोग गुरुङले निर्देशन गरेका छन् । ‘जेरी अन टप’मा अनमोल केसी, आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गी, सुरक्षा पन्त लगातयका कलाकारको अभिनय छ । अनमोल र भुवन यो सिनेमामा बाउछोराका भूमिकामा छन् । उनीहरू एउटै चलचित्रमा काम गरेको यो पहिलो चलचित्र हो ।
अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ ।
सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विस्वास तिम्सिना र छायांकन दुलिप रेग्मीको छ । चलचित्रको कथा हेमराज बिसीको हो ।



