‘भाईरल गोर्खे’को गीतमा प्रेमको काउकुती

काठमाडौं । माघ १ गतेबाट रिलिजमा आउने चलचित्र ‘भाईरल गोर्खे’को गीत सार्वजनिक भएको छ । ‘बतासले उडाइ ल्यायो माया मेरो’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा स्वर त्रिशला गुरुङ र दीपक लिम्बूको छ । रोहित शाक्यको संगीत रहेको गीतमा कुशुम गजमेरको शब्दरचना छ ।

यो ‘चिनो’ चलचित्रको गीत हो । ओर्जिनल भर्सनमा कुमार कान्छा र आशा भोस्लेको स्वर छ भने संगीत रञ्जित गजमेरको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ छन् । प्रेममा रहेका सौगात र श्रृष्टिको प्रेम सम्बन्ध भिडियोमा देखाइएको छ । उनीहरूको चञ्चलता र प्रेमको काउकुती भिडियोमा देख्न सकिन्छ ।

‘भाईरल गोर्खे’ टिकटक, फेसबुक र युट्युबमा जसरी हुन्छ भाइरल हुने पछिल्लो ट्रेन्डलाई समाएर बनेको चलचित्र हो ।

निगम श्रेष्ठले निर्देशन गरेको चलचित्रमा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको पनि अभिनय रहेको छ । केही दिन अगाडि मात्रै यो चलचित्रको पोस्टर सार्वजनिक भएको थियो ।