गएको तिहारमा विजयको चलचित्रले ५० करोड कमाउँदा यसपटक दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ले कति कमाउला ?

काठमाडौं । गत वर्ष तिहारमा रिलिज भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा ऐतिहासिक ग्रसकलेक्सन गरेको थियो । नेपाली बक्सअफिसमा मात्रै यसले करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । यसमा विजय बराल मुख्य भूमिकामा थिए ।

यो वर्षको तिहारमा विजय बराल नै मुख्य भूमिकामा रहेको चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज भएको छ । यसमा भने विजय बराल मात्रै होइन अहिले बजारका सर्वाधिक डिमान्डेड अभिनेता दयाहाङ राई पनि मुख्य भूमिकामा छन् । यसअर्थ ‘पूर्ण बहादुरको सारङ्गी’भन्दा ‘वरिष्ठ बलराम’लाई दर्शक तान्न सहज छ ।

‘वरिष्ठ बलराम’को समसामयिक कथा भन्दै मौलिक कथामा बनेको चलचित्र भनेका छन् । दयाहाङ राई र विजय बरालको अभिनयको खुलेर तारिफ गरिरहेका छन् ।

सकारात्मक वर्ड अफ माउथ पाएकाले विस्तारै चलचित्रले पिकअप लिने निर्माता आशिष एच तामाङले बताएका छन् । काठमाडौं उपत्यका र काठमाडौं बाहिर पनि उस्तै राम्रो वर्ड अफ माउथ पाएकाले सिनेमाले बक्सअफिसमा विस्तारै गति समात्नेमा निर्माता तामाङ ढुक्क छन् ।

स्थानीय प्रशासनको मिलेमतोमा स्थानीय युवाले कसरी प्राकृतिक स्रोतको दोहोन गर्छन्, ‘वरिष्ठ बलराम’ममा छ । यसलाई दर्शकले मुक्तकण्ठले प्रसंशा गरिरहेका छन् । त्यसैले गत वर्ष विजयको मुख्य भूमिका रहेको चलचित्रले ५० करोड नेपाली बक्सअफिसमा मात्रै कमाउँदा यसपटक तिहारमै रिलिज भएको विजय र दयाहाङसमेतको चलचित्र ‘वरिष्ठ बलराम’ले कति कमाउँछ प्रतिक्षाको विषय बनेको छ ।

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गरेको छ ।