रिलिजको एक महिनामै ‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’ करोड क्लबमा

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’ करोड क्लबमा प्रवेश गरेको छ । रिलिजको एक महिनामा यो गीतले एक करोड दर्शक पाएको हो ।

प्रशान्त शिवाकोटीको शब्दरचना र प्रशान्तकै संगीत रहेको गीतमा स्वर प्रशान्त र शान्तीश्री परियारको छ । यो गीत सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसका कारण छोटो समयमै एक करोड भ्युज पाएको हो ।

प्रेमिल गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा छ । गीतमा माया र शंका छ । शंकाका बीचमा प्रेमका कारण बनेको विश्वास छ । विश्वासका कारण घर बसाउने सहमति छ ।

गीतमा प्रेमिकासँग जीवन विताउने सपना बोकेको प्रेमीको चाहना छ । प्रेमिकाले भने प्रेमीको बानीव्यवाहारप्रति गरेको शंका छ ।

मायामा शंका नगर्न गरेको प्रेमीको आग्रहमा अन्ततः प्रेमिका सहमत भएको गीतमा सुन्न सकिन्छ । गीतको भिडियो पनि आकर्षक छ । भिडियोमा सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि आर्यालको नृत्य छ ।

चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।

मनकृष्ण महर्जन को छायांकन, प्रशान्त सिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।