एलिना भन्छिन्- ‘नोकरझैँ व्यवहार गरियो’
काठमाडौं । गायिका एलिना चौहानले कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्ने गरेको बताएकी छन् ।
अमेरिकाको सांगीतिक टुर सकाएर नेपाल फर्किएकी गायिका चौहानले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अमेरिकाको कार्यक्रममा अपमानजनक व्यवहार सहनुपरेको गुनासो सार्वजनिक गर्दै यस्तो गुनासो गरेकी हुन् ।
चौहानले तीन महिना लामो सांगीतिक यात्राका क्रममा आफूलाई कार्यक्रम आयोजकले ‘नोकर’ झैँ व्यवहार गरेको बताएकी छन् । याे भ्रमण आफ्नाेलागि ठूलाे सिकाइ भएकाे उल्लेख गर्दै उनले आगामी दिनमा कुनै पनि कलाकारले यस्तो अपमान सहन नपरोस् भन्ने कामना गरेकी छन् ।
उनले लेखेकी छन्,’जस्तो छ, त्यस्तै भन्छु – यो टुर मेरो लागि ठुलो सिकाइ बन्यो।कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो। एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। नराम्रा अनुभवले धेरै कुरा सिकायो –अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् ।’
एलिनाले कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्ने पनि उनले प्रष्ट पारेकी छन् । उनले अघि लेखेकी छन्, “नराम्रा अनुभवले धेरै कुरा सिकायो । अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् ।”
फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा भएको सांगीतिक टुरमा उनीसँगै लोक-गायक बद्री पंगेनी र गायक प्रताप दास पनि अमेरिका गएका थिए ।
यसअघि यही समूहकी कलाकार कला लम्सालले पनि आयोजकसँग निकै आक्रोश पोखेकी थिइन् । साथै उनी बिचमै फर्किएकी थिइन् ।




