५ दिन थुनामा राखेर गायक बाबुल गिरीमाथि अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । गायक बाबुल गिरीलाई काठमाडौँ जिल्ला अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

यही कात्तिक १ गते शनिबार अनामनगरको याम तिलक स्टुडियोभित्र आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्युपश्चात् प्रहरी नियन्त्रणमा रहेका गायक गिरीलाई आत्महत्या दुरुत्साहन मुद्दामा थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो ।

पेट्रोल छर्केर आगो लगाएपछि गम्भीर घाइते भएकी गायिका पौडेलको कात्तिक ७ गते बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको शरीरको ५५ प्रतिशत भाग जलेको थियो। घटनामा गायक गिरीको हातखुट्टामा सामान्य चोट लागेको थियो ।

गायिका पौडेलको मृत्युपश्चात् उनका आफन्तले गायक बाबुल गिरीविरुद्ध आत्मदाह दुरुत्साहनको जाहेरी दर्ता गरेका थिए । प्रहरीले अनुसन्धानका लागि हिरासतमा रहेका गिरीलाई थप ५ दिनको म्याद थप गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप गरेको हो ।

साङ्गीतिक क्षेत्रमा नितु र बावुल निकट मानिन्थे । ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच विवाद भएकै कारण नितुले आत्महत्या गरेको मृतकका परिवारले बताएका छन् । प्रहरीमा दर्ता भएको जाहेरीमा बाबुल गिरीले नितुलाई विवाहको प्रलोभन दिएर शोषण गरेको र विवाह गर्न नमानी धोका दिएको बताएका छन् ।

प्रहरीसँगको प्रारम्भिक बयानमा गिरीले पौडेलसँगको प्रेम सम्बन्ध स्वीकारेका छन् ।