‘गोजीमा दाम छैन’लाई १० करोड भ्युज
काठमाडौं । चलचित्र ‘चंगा चेट’मा समावेश गीत ‘गोजीमा दाम छैन’ले युट्युबमा १० करोड भ्युज पार गरेको छ । सात वर्षअघि ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले १० करोड भ्युज प्राप्त गरेको हो ।
चलचित्र ‘चंगा चेट’को यो गीतमा संगीतकार राजनराज शिवाकोटीको संगीत छ । राजनराज शिवाकोटी, मेलिना राई र गृष्मा शिवाकोटीले स्वर दिएका छन् । गीतमा हरिहर तिमल्सिनाको शब्द छ ।
‘गोजीमा दाम छैन’ को भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू प्रियंका कार्की, सन्दीप क्षेत्री, आयुष्मान देशराज जोशी, परमिता राणा, रवीन्द्र झा र सुरक्षा पन्तलगायत छन् ।
भिडियोको कोरियोग्राफी प्रविन सिंहले गरेका छन् । यो चलचित्र निर्देशन दीपेन्द्र के. खनालले गरेका छन् ।



