‘जारी २’को ट्रेलरमा दर्शकको चासो, बक्स अफिसमा आक्रामक व्यापार हुने अनुमान
काठमाडौं । चलचित्र ‘जारी’को दोस्रो श्रृंखला कात्तिक २१ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो ।
सो वर्ष चलचित्र ‘जारी’ले नेपाली बक्सअफिसमा १७ करोडमाथिको व्यापार गरेको थियो । त्यसैले दोस्रो श्रृंखला निर्माण घोषणा भएदेखि नै दर्शकमाझ प्रतिक्षित सिनेमाको सूचीमा परेको छ । ‘जारी २’को बक्स अफिसमा पनि आक्रामक व्यापार हुने अनुमान गरिएको छ ।
गत सोमबार सार्वजनिक गरिएको ‘जारी २’को ट्रेलरले दर्शकमाझ ठूलो उत्साह जगाएको छ । ट्रेलरमा प्रेम, तातो रिसले बिगारेको घरबार र बिग्रिएको घरबार जोड्नका लागि गरिएको प्रयास छ । लिम्बू संस्कार र संस्कृतिमा विवाह कसरी हुन्छ देखाइएको छ । टुट्न लागेको घरबार फेरि जोडिन्छ कि भने प्रतिक्षा गरिरहेका बेला लाहुरेको इन्ट्रीले ट्रेलरलाई रोचक बनाएको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्मित ‘जारी २’ यस वर्षको सर्वाधिक कमाउने चलचित्रहरूमध्ये एक हुने अपेक्षा गरिएको छ । सार्वजनिक ट्रेलरलाई युट्युबमा यो समाचार तयार पार्दासम्ममा १३ लाख ६० हजार भन्दा बढी दर्शकले हेरेका छन् । जसमा १२ सय बढी दर्शकले प्रतिक्रिया जनाएका छन् ।
ट्रेलरले दर्शकमा उच्च चासो र उत्सुकता पैदा गरेको देखिएको छ । धेरै दर्शकहरूले ‘जारी २’ हेर्नका लागि आफ्नो उत्सुकता व्यक्त गरेका छन्, विशेष गरी कार्तिक २१ गते (नोभेम्बर ७) को प्रतीक्षा गरिरहेको प्रतिक्रिया दिएका छन् ।
तीन दिनअघि रिलिज गरिएको ट्रेलरमा आएका प्रतिक्रिया दयाहाङ राई र मिरुना मगरको जोडीलाई निकै मन पराइएको छ, र विजय बरालको अभिनयले पनि दर्शकहरूमा विशेष उत्साह थपेको देखिन्छ । कतिले चलचित्रले बक्स अफिसमा नयाँ इतिहास रच्ने दाबी गरेका छन् भने कतिपयले कथावस्तु, अभिनय र संवादको प्रशंसा गरेका छन् ।
उपेन्द्र सुब्बाद्वारा लिखित तथा निर्देशित यो चलचित्र रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर र विजय बरालको मुख्य भूमिका रहेको छ । अन्य कलाकारहरूमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, वेदना राई र सिर्जना निङ्लेखु छन् ।



