‘तक्मे बुढा’लाई ‘ओभर कन्फिडेन्स’ यसरी भयो भारी ?

काठमाडौं । अत्यधिक आत्मविश्वास कहिलेकाहीँ घातक हुन सक्छ भन्ने उदाहरण यतिबेला अभिनेता तथा निर्देशक विल्सन बिक्रम राई बनेका छन् ।

पछिल्लो दशकमा ‘तक्मे बुढा’का रूपमा चर्चा कमाएका लोकप्रिय कलाकार विल्सनका लागि उनको डेब्यु निर्देशकीय चलचित्र ‘मैझारो’ एक कठोर पाठ बनेको छ । यो चलचित्र अहिले बक्सअफिसमा संघर्ष गरिरहेको छ । तिहारको छेको पारेर कात्तिक सात गते रिलिज भएको यो चलचित्रले कात्तिक १५ गतेसम्म एक करोडको आँकडा पार गरेको छ ।

रिलिजको दोस्रो शनिबारसम्म एक करोड ९५ हजार ३ सय ९ रुपैयाँ ३८ पैसा कमाई गरेको छ । हलहरूमा दर्शकको न्यून उपस्थिति हुँदा चलचित्रको दैनिक व्यापारिक ग्राफ लगातार ओरालो लागेको छ ।

जबकी यो चलचित्रमा कलाकारको राम्रो लाइनअप छ । चलचित्रमा धिरज मगर, मिरूना मगर, दीया पुन मुख्य भूमिकामा छन् । निर्देशक विल्सन आफैँले पनि अभिनय गरेका छन् । दयाहाङ राई विशेष भूमिकामा छन् । यो लाइनअप, सिनेमाको विषय र क्यानभास हेर्दा हलमा दर्शकको उल्लेख्य उपस्थिति हुनुपर्ने चलचित्र हो ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा बनेको यस चलचित्रमा बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरूङ, अभयराज बराल, माओत्से गुरूङ, कविता आलेलगायतका चर्चित कलाकारहरूको पनि अभिनय छ । तर, यतिका धेरै स्थापित कलाकारहरूको अभिनय भए पनि ‘मैझारो’ ले ठूला सहरका हलमा दर्शक तान्न सकेन । विल्सनले ‘मैझारो’लाई नेपाली चलचित्रको ‘नयाँ टेस्ट’ भन्दै प्रचार गरे पनि यथार्थ भने फरक देखियो ।

चलचित्र रिलिजअघि विल्सन अत्यधिक आत्मविश्वासी देखिएका थिए । उनी आफ्नै टाइटल र कथा ‘सबैले बुझ्नेछन्’ भन्ने विश्वासमा थिए । जसका कारण चलचित्रको प्रचारप्रसारमा पनि सुस्तता देखियो । अन्तिम समय पारेर पूर्वी नेपालका केही सहरमा प्रचार गरे पनि सायद त्यो पर्याप्त भएन ।

‘मैझारो’ प्रदर्शनमा आउनु ठीक एक दिनअघि, कात्तिक ६ गते भाइटीकाको अवसर पारेर दुई चलचित्र ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ रिलिज भएका थिए । विल्सन ‘सोल्टिनी’ का पनि शीर्ष कलाकार हुन् । यस्तो अवस्थामा ‘सोल्टिनी’ भन्दा एक दिनपछि ‘मैझारो’ प्रदर्शनमा ल्याउने निर्णय धेरैले उनको ‘ओभर कन्फिडेन्ट’ निर्णयको परिणाम मानेका छन् ।

अन्तिम समयमा आएर ‘मैझारो’ले मोफसल केन्द्रित प्रचार अभियान चलाए पनि त्यसले ठूला सहरका दर्शक तान्न सकेन । विल्सनको नामसँग जोडिएको केही अपेक्षा भए पनि त्यो पूरा भएन ।

हाल ‘मैझारो’ को प्रदर्शन सीमित शोमा झरेको छ । पहिलो साता अपेक्षाभन्दा निकै कम दर्शक देखिएपछि धेरै मल्टिप्लेक्सहरूले फिल्मलाई ‘लो डिमान्ड’ सूचीमा राखेका छन् । मोफसलका केही हलहरूमा चलचित्रको प्रदर्शन जारी रहे पनि टिकट बिक्री खासै उत्साहजनक छैन ।

‘मैझारो’को बक्स अफिस यात्रा सुस्त गतिमा अघि बढिरहेको देखिन्छ । र, अब यो चलचित्र उठ्ने सम्भावना न्यून छ । ‘मैझारो’ को यो नतिजा विल्सनको करियरका लागि एक कठोर पाठ बन्ने देखिन्छ ।