‘परान’ दर्शकको नजरमा पर्दै, वर्ड अफ माउथले बढायो आकर्षण
काठमाडौं । गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘परान’ दर्शकको सकारात्मक प्रतिक्रियासँगै बिस्तारै दर्शकको रोजाइमा पर्न सफल भएको छ ।
प्रदर्शनको पहिलो दिन अपेक्षित प्रदर्शन गर्न नसकेको यो चलचित्रले दोस्रो दिनदेखि भने दर्शकको उत्साहजनक साथ पाउँदै आइरहेको छ ।
चलचित्र ‘परान’ शुक्रबार सीमित दर्शकसहित हलमा पुगेको भए पनि शनिबार, आइतबार र सोमबार देशभरका हलहरूमा करिब ८० देखि ९० प्रतिशत अकुपेन्सी हासिल गरेको निर्माण पक्षले बताएका छन् ।
सोमबार पनि यो चलचित्रको साँझ पखका केही शो हाउसफुल भएका थिए । विशेषगरी उपत्यका र प्रमुख सहरहरूमा दर्शकको भीड बढ्दै गएको छ ।
दर्शकले मुख्य रूपमा फिल्मको कथा र प्रस्तुतिलाई मनपराएका छन् । यसको कथानकको लयले दर्शकलाई विस्तारै भावनात्मक रूपमा बाँध्दै लगेर कहिले हसाउँछ, कहिले सोचमग्न बनाउँछ, कहिले नोस्टाल्जिक बनाउँदै भक्कानिनेसम्म बनाउँछ ।
हलमा आएका केही दर्शकले सामाजिक सञ्जालमार्फत फिल्मको कथा, अभिनय र संगीतको प्रशंसा गर्दै ‘परान’ हेर्न सबैलाई सिफारिस गरेका छन् ।
‘सक्किगोनी’मा ‘काकु’ नामको पात्रमार्फत चिनिएका दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्मले आफ्नो कथावस्तु, सोमाथिको अभिनय र प्रस्तुतिको दर्शकहरूले तारिफ बटुलिरहेका छन् ।
चलचित्रका प्रमुख कलाकारहरूको प्राकृतिक अभिनय र निर्देशकको प्रस्तुती शैली दर्शकको आकर्षणको केन्द्र बनेको छ। समीक्षकहरूले पनि फिल्मको स्क्रिप्ट र इमोशनल डेप्थलाई फिल्मको बलियो पक्ष भनेका छन् ।
यही सकारात्मक वर्ड अफ माउथ यस्तै रह्यो भने, ‘परान’ले आगामी हप्तामा पनि बलियो बक्स अफिस प्रदर्शन गर्ने देखिएको छ ।
चर्चित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छाको प्रिज्मा एडभर्टाइजिङका प्रमुख रञ्जित आचार्यसँगको सहस्वामित्वमा रहेको बाइस्कोप सिनेमाजको ब्यानरमा निर्माण भएको फिल्ममा नीर शाह, पूजा चन्द, मदनकृष्ठ श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङ आदिको प्रमुख भूमिका रहेको छ ।



