उपेन्द्र सुब्बा भन्छन्– ‘जारी २’ चलचित्र ‘जारी’को ब्याज खान बनाएको होइन
काठमाडौं । चलचित्र ‘जारी २’का निर्देशक उपेन्द्र सुब्बाले यो चलचित्र ‘जारी’को ब्याज खान बनाएको भन्न नमिल्ने तर ‘जारी’का कारण सहज भने भएको बताएका छन् ।
“जारीको ब्याज खान बनाएको भन्यो भने अलि अन्याय नै हुन्छ होला किन भने यो चलचित्रको कथा लेख्दा मैले अर्कै चलचित्रका लागि भनेर लेखेको थिएँ,” निर्देशक सुब्बाले भने, “तर, पछि टिमका सबै साथीहरूले अर्को नाम किन जारी २ राखौँ भन्नुभयो । मैले पनि हुँदैहुँदैन भन्न सकिनँ ।”
एक्लै चलचित्र नबन्ने भन्दै टिममा काम गर्दा अरुको सल्लाह मान्नुपर्ने उनी बताउँछन् । ‘जारी २’को ब्याज खान बनाएको होइन भनिरहँदा पनि धेरै सहज भने हुने उनी बताउँछन् ।
“चलचित्र आउँदैछ भन्ने सूचना दिन सजिलो हुने, मेरो चलचित्रका पात्रहरु यीयी हुन् भनेर भन्न पनि सजिलो हुनेरहेछ,” उपेन्द्र भन्छन्, “तर, चुनौती पनि त्यति नै हुने भएकाले ब्याज खान मात्रै बनाएको भनेर चाहिँ भन्दिनँ ।”
यो चलचित्र च्याब्रुङको कथा भएको उनले बताए । सुरुमा च्याब्रुङको महत्व के छ, कसरी च्याब्रुङेह यसमै रमाएर बाँच्छन् भन्ने कथा रहेको उनले जानकारी दिए । पछि चलचित्रका पात्रहरुको नाम उही ‘जारी’कै जस्तै आए पछि टिमका साथीहरूले ‘जारी २’ नाम प्रस्ताव गरेको उनले प्रष्ट पारे ।
च्याब्रुङ लिम्बु समुदायमा खुसीको प्रतीक भएको र त्यसकै कथा यो सिनेमामा जोडिएर आउने उनको भनाइ छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर र विजय बरालको मुख्य भूमिका रहेको छ ।
अन्य कलाकारहरूमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, वेदना राई र सिर्जना निङ्लेखु छन् ।
कात्तिक २१ गतेबाट यो चलचित्र हलमा लाग्दैछ । अग्रिम बुकिङ खुला भइसकेको छ । हलहरुले उत्साहजनक शो दिएका छन् ।



