‘जेरी अन टप’ लाई सेन्सर बोर्डले सोध्यो स्पष्टीकरण, ‘कोशेढुंगा’को प्रदर्शन रोक्का

काठमाडौं । केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले प्रदर्शन नियम उल्लंघन गरेको भन्दै दुई चलचित्रविरुद्ध कारबाही अघि बढाएको छ ।

केन्द्रीय चलचित्र जाँच पास समितिले प्रदर्शनरत चलचित्र ‘जेरी अन टप’ का निर्मातालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेको छ भने अर्के सिनेमा ‘कोशेढुंगा’ को सार्वजनिक प्रदर्शन तत्काल रोक्ने निर्णय गरेको हो ।

अनुगमन समितिका अनुसार ‘जेरी अन टप’मा मदिराजन्य पदार्थ सेवन र जुवातास खेल्ने दृश्यमा अनिवार्य चेतावनी सन्देश नलेखिएको, साथै केही अपशब्दयुक्त संवादमा म्युट नगरिएको पाइएको र अनुगमन गर्दा चलचित्रले सेन्सरका निर्देशन र प्रदर्शन सम्बन्धी नियमहरू उल्लंघन गरेको पाइएको बताएको छ ।

समिति सदस्य तथा अनुगमन समिति संयोजक सम्पन्न श्रेष्ठका अनुसार, “सेन्सरका क्रममा ती संवाद र दृश्यहरू देखिएका थिएनन् । सेन्सर प्रमाणपत्र दिँदा निर्माण पक्षलाई पछि नयाँ संवाद वा दृश्य नथप्न स्पष्ट भनिएको थियो, तर प्रदर्शन संस्करणमा ती संवादहरू देखिए ।”

समितिको मंगलबार बसेको बैठकले चलचित्र निर्माण टिमलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । “यदि चित्तबुझ्दो जवाफ प्राप्त नभए कानुनी प्रक्रिया अघि बढाइनेछ,” श्रेष्ठले बताए ।

सोही बैठकले गत भाद्र १२ गते प्रदर्शनमा आएको चलचित्र ‘कोशेढुंगा’ को पनि सार्वजनिक प्रदर्शन रोक्ने निर्णय गरेको छ । सेन्सर बोर्डका अनुसार यस सिनेमाले पनि समितिले दिएको निर्देशन उल्लंघन गरी प्रदर्शन गरेको पाइएको हो ।

बोर्डले अनुगमनपछि फिल्म निर्माण टिमलाई स्पष्टीकरण सोधेको भए पनि त्यसको बेवास्ता गरिएकाले प्रदर्शन रोक्ने निर्णय गर्नुपरेको जनाएको छ ।

चलचित्र विकास बोर्डलाई पठाइएको पत्रमार्फत ‘कोशेढुंगा’ को प्रदर्शन रोक्का गर्ने औपचारिक प्रक्रिया अघि बढाइएको सेन्सर बोर्डले जनाएको छ ।

यसरी सेन्सर बोर्डले पछिल्ला दिनमा सिनेमा प्रदर्शनमा देखिएका नियम उल्लंघनका घटनाप्रति कडाइपूर्वक निगरानी बढाएको जनाएको छ ।