ब्लकबस्टरको बाटोमा चलचित्र ‘परान’, कस्तो छ व्यापार?
काठमाडौं । चलचित्र ‘परान’ दोस्रो सातामा सशक्त प्रवेश गरेको छ ।
गत शुक्रबारबाट सीमित शोका साथ प्रदर्शनमा आएको यस चलचित्रले दोस्रो सातामा धमाकेदार व्यापार गर्ने स्पष्ट संकेत दिएको छ । हालसम्म हलहरूले यस सिनेमालाई १५३ वटा शो उपलब्ध गराएका छन् ।
६४ शोका साथ रिलिज भएको यस चलचित्रलाई सुरुवाती दुई दिन लगातारको वर्षाले केही बाधा पुर्याए पनि, मंगलबारदेखि यसले अभूतपूर्व गति लिएको थियो । ‘परान’ले दर्शक र समीक्षक दुवैबाट प्रशंसा बटुलेको छ ।
बाबुछोराको सम्बन्धलाई केन्द्रमा राखी बनेको यो चलचित्रले प्रदर्शनपछिका तीन दिनमा दर्शकको मनमा भावनात्मक प्रभाव छोड्न सफल भएको छ ।
यो चलचित्र हेरेका धेरै दर्शक हलभित्रै रोएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेका छन् । टिकटक र फेसबुकमा ‘परान’ सम्बन्धी भिडियो र प्रतिक्रियाहरूले थप चर्चामा ल्याएका छन् । ‘परान’ लाई “हृदय छुने नेपाली सिनेमा” भनेर वर्णन गर्ने दर्शकहरू बढ्दै गएका छन् ।
यही सकारात्मक वर्ड अफ माउथका कारण ‘परान’ले आगामी दिनमा आफ्नो बलियो उपस्थिति देखाउनेछ भन्ने निश्चित छ ।
गत शुक्रबारबाट देशभर रिलिज भएको ‘परान’ले मंगलबारसम्म मध्यमस्तरको व्यापार गरेको थियो । प्रदर्शनको तेस्रो दिनपछि उत्कृष्ट शोसहित अकुपेन्सी प्राप्त गरेको चलचित्रले पहिलो साताको अन्त्यसम्ममा बक्सअफिसमा २ करोड हाराहारी ग्रस कमाइ गरेको छ ।
दीपक प्रसाद आचार्यको निर्देशनमा बनेको यो डेब्यू चलचित्र गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एडभटाईजिङका रञ्जित आचार्यको सह-स्वामित्वमा रहेको कम्पनी ‘बाईस्कोट सिनेमा’ले निर्माण गरेको हो ।
यस चलचित्रमा नीर शाह, पूजा चन्द, मदनकृष्ठ श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङ आदिको प्रमुख भूमिका रहेको छ ।



