‘चलचित्र पत्रकार’ पुस्तक लोकार्पण

काठमाडौं । नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको पुस्तक ‘चलचित्र पत्रकार’ शुक्रबार लोकार्पण गरिएको छ ।

चलचित्र विकास बोर्डको सहयोगमा चलचित्र पत्रकार संघ नेपालद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोह सम्पन्न भएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष डीसीले नेपाली चलचित्र क्षेत्रको समग्र अभिवृद्धिमा चलचित्र पत्रकारिता अभिन्न अंग भएको उल्लेख गर्दै भने,
“चलचित्र पत्रकारिताले चलचित्रको प्रचार र प्रवर्द्धनका साथै आलोचना, विश्लेषण र सुधारका दिशा देखाउने माध्यमको रूपमा काम गरेको छ । यसको समृद्धि र शुद्ध पत्रकारिताका लागि चलचित्र पत्रकार कल्याण कोष स्थापना गर्ने पवित्र उद्देश्यलाई बोर्डले सहयोग गरेको छ। यस प्रकारका प्रयासहरूले चलचित्र पत्रकारितालाई अझ जिम्मेवार, अनुसन्धानमुखी र स्थायी बनाउन मद्दत गर्छ ।”

विचार–विमर्शमा सहभागी पत्रकारहरूले चलचित्र पत्रकारितालाई कुनै निश्चित चलचित्र वा व्यक्तिको प्रचार केन्द्रित नभई स्वतन्त्र, निष्पक्ष र सिर्जनात्मक पत्रकारिताको सिद्धान्तअनुसार अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।