‘जारी २’को ‘डाइरेक्टर्स कट’ तयार, १५ मिनेट थपिएको चलचित्र भोलिबाट दर्शकले हेर्न पाउने
काठमाडौं । चलचित्र ‘जारी २’को निर्माण टिमले ‘डाइरेक्टर्स कट’ निकालेको छ । करिब १५ मिनेट थपेर निर्देशक उपेन्द्र सुब्बाले ‘डाइरेक्टर्स कट’ तयार पारेका हुन् ।
सुरुमा २ घण्टा ७ मिनेट रहेको चलचित्रमा अब करिब १५ मिनेट थपिएको हो । शुक्रबारदेखि आज (सोमबार)सम्म हेर्ने दर्शकले भन्दा भोलि (मंगलबार)बाट हेर्ने दर्शकले १५ मिनेट बढी हेर्न पाउनेछन् ।
निर्माण टिमले ‘डाइरेक्टर्स कट’ आज सेन्सर समेत गरिसकेको छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।
कवि उपेन्द्र सुब्बाको डेव्यु निर्देशकिय ‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष यो सिनेमाले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।



