बाल मनोविज्ञानमा आधारित रहेर फिल्म ‘रोल नं १’ निर्माण हुने
काठमाडौं । चलचित्र ‘रोल नंं. १’ निर्माणको घोषणा गरिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने चलचित्रको फर्स्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।
बाल मनोविज्ञानमा आधारित रहेर चलचित्र निर्माण हुनेछ ।
सार्वजनिक फर्ष्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको अगाडि निलो सर्ट लगाएका विद्यार्थी कक्षा कोठाभरी छन् । अगाडि कालोपाटी छ । नजिकै एक शिक्षिका छिन् ।
उनले पठाउँदै गर्दा केही प्रश्न सोधेर यो कसलाई आउँछ भनेर प्रश्न गर्दा एक विद्यार्थीले मलाई आउँछ भनेर हात उठाएको संकेत पोस्टरले गरेको छ । उनको रोल नम्बर १ भएको अनुमान पोस्टरबाट लगाउन सकिन्छ । ड्रेस र ब्ल्याकबोर्डले सरकारी स्कुल रहेको अनुमान लगाउन सकिन्छ ।
चलचित्रमा जोन योञ्जनको कथा र निर्देशन छ । कलाकारका बारेमा निर्माणपक्षले कुनै जानकारी दिएको छैन । केही समयपछि कलाकारबारे जानकारी दिने निर्माणपक्षको भनाइ छ । चलचित्रको छायांकन तिहारपछि हुनेछ ।
महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत रहनेछ ।
सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्र ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आइसकेको छ । यो व्यानरमा बनेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ पोस्ट प्रोडक्सनमा छ ।