आज एक्सओ क्लबमा गुञ्जिदै कन्दरा

काठमाडौं । चर्चित सांगीतिक समूह कन्दरा आज ठमेलको एक्सओ क्लबमा गुञ्जिने भएको छ ।

गत सोमबार पत्रकार सम्मेलन गर्दै ‘काठमाडौं कलिङ कन्दरा’ नामक विशेष संगीत कार्यक्रमको घोषणा गरेको यो सांगीतिक समूहले ब्यान्डको ३२ वर्षको स्थापनापछि काठमाडौंमा दोस्रो प्रस्तुति दिन लागेको हो ।

विशिष्टा इन्टरनेसनलले एक्सओ क्लब र हाई इन्टरटेनमेन्टको सहकार्यमा हुने कन्सर्टमा ब्याण्डले आफ्ना हिट गीत गुञ्जाउनेछ । त्यससँगै बीचमा ‘रिदम अफ चेन्ज’ का सन्देश पनि सुनाइनेछ । ब्याण्डले यो कन्सर्टलाई युवापुस्तासँग जोडिने अवसरको रुपमा लिएको छ ।

ब्याण्डका प्रमुख गायक विवेक श्रेष्ठले ब्याण्डले अघि सार्न लागेको ‘रिदम अफ चेन्ज’ थिमअन्तर्गत यो कन्सर्ट हुन लागेको बताए । उनले उक्त थिम मुलुकको सांस्कृतिक, आर्थिक र सामाजिक परिवर्तनसँग जोडिएको बताए ।

‘मुलुक परिवर्तनको संघारमा छ । संगीतमार्फत हामीले मुलुकको परिवर्तनमा हातेमालो गर्न खोजेको हो’ गायक श्रेष्ठले भने, ‘यो कन्सर्ट हाम्रो आवाज हो । एक्सोमा हुन लागेको कन्सर्ट हाम्रो थिमअन्तर्गतको पहिलो कन्सर्ट हुनेछ ।’

क्लबमा गर्नुको उद्देश्य मनोरञ्जन गर्नु मात्र नभएर युवापुस्तासँग जोडिने प्रयास पनि श्रेष्ठले बताएका छन् । उनले भने, ‘क्लब नाच्ने र गाउने ठाउँ मात्र होइन । अहिलेको युवापुस्ताको माग हो ।’

ब्याण्डले गतवर्ष पहिलोपटक काठमाडौं कन्सर्ट ठमेलस्थित एलओडीमा गरेको थियो । ‘हामी रिदम अफ चेन्जलाई सामाजिक र आर्थिक परिवर्तनसँग जोड्न चाहन्छौं’ उनले भने, ‘संगीतमा पनि यो परिवर्तन लागू हुन्छ । हामीले फ्रन्टम्यानलाई पनि चिन्यौं । पर्दा पछाडिकालाई चिनेनौं ।’

अबको १ महिना नेपाल र त्यसपछि विदेशका विभिन्न मुुलुकमा ‘रिदम अफ चेन्ज’ टूर हुने विवेकले बताए । उनका अनुसार ब्याण्डले अमेरिका, क्यानडा, युरोप र एसियाली मुलुकमा टूरको तयारी गरेको छ ।

सन् १९९२ मा पोखरामा स्थापना भएको कन्दराका ‘चन्चले कान्छी’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल राखी’, ‘भेडीगोठैमा’, ‘लेककी हे माया’ लगायतका गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् ।

ब्याण्डको लिड भोकलिस्टमा विवेक श्रेष्ठ, ड्रममा सुनिल थापा, मादलमा अविनाश गायक, बासिस्टमा पंकज झा, गितारमा सन्देश मुजो, किबोर्डमा नील घतानी, साउन्ड इन्जिनियरमा सिमोस तझ्या र प्राविधिक विज्ञमा नवीन थापा छन् ।