‘हर्ष’को ‘कुटु कुटु’ गीतमा रोमान्टिक देखिएका खगेन्द्र र वर्षा

काठमाडौं । चलचित्र ‘हर्ष’मा समावेश दोस्रो गीत सार्वजनिक भएको छ ।

निर्देशक एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमाको निर्माण टिमले ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ बोलको गीत सार्वजनिक गरेको हो ।

शुक्रबार सार्वजनिक चलचित्रको गीतमा दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

दर्शकहरूमाझ चर्चा बटुल्न सुरु गरिसकेको यस गीतमा खगेन्द्र र वर्षाको रोमान्टिक केमिस्ट्री देख्न सकिन्छ ।

विशेषत गम्भीर र सशक्त भूमिकाका लागि परिचित अभिनेता लामिछानेलाई ‘हर्ष’ मार्फत पहिलो पटक यस्तो रोमान्टिक अवतारमा देख्दा दर्शकहरू चकित पर्ने निश्चित छ ।

सुनिल क्षेत्रीको कोरियोग्राफीमा तयार पारिएको यस भिडियोले दर्शकलाई सिनेमाप्रति अझ उत्सुक बनाउने पक्का छ ।

एलिस कार्कीको कम्पोजिसनमा तयार भएको ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको आवाज छ ।

‘द भ्वाइस अफ नेपाल सिजन २’ बाट चर्चामा आएका सनिशले यस गीत मार्फत पाश्र्व गायनमा डेब्यु गर्दैछन् । उनलाई विश्वास छ कि यो गीतले उनलाई संगीतको दुनियाँमा स्थापित गर्नेछ ।

गीतमा नीरकमल खड्का (मामल) को शब्द रचना र शैलेन्द्र एम प्रधान (बाबु) को एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ छ ।

स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलले न्यूयोर्क फिल्म एकेडेमीबाट सिनेमा मेकिङको ज्ञान हासिल गरेकी छिन् । आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्वमा स्नातकोत्तर गरेकी उनले यसअघि पनि केही छोटा सिनेमाहरू निर्देशन गरिसकेकी छन् । ‘हर्ष’ उनको पहिलो पूर्ण फिचर सिनेमा निर्देशन हो ।

खगेन्द्र र वर्षा बाहेक सिनेमामा निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन र सुनिल क्षेत्रीको कोरियोग्राफीले सिनेमालाई अझ उत्कृष्ट बनाउने विश्वास गरिएको छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा बनेको यस सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको ‘हर्ष’ आगामी मंसिर १२ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।