दुई दिनमै चुँडियो ‘धागो’ !
काठमाडौं । शुक्रबारबाट हलमा सुटुक्क रिलिज भएको थियो, चलचित्र ‘धागो’ । बिना प्रचार र हल्लाखल्ला नगरी हलमा आएको थियो । न सामाजिक सञ्जालमा पब्लिसिटी न मिडियामा अन्तवार्ता, किन हो यो सिनेमा सुटुक्क रिलिज भएको कसैलाई थाहा छैन ।
यस्तो लाग्थ्यो, दर्शकले यो चलचित्रबारे थाहा पाए भने यो सिनेमाका निर्मातालाई पाप लाग्छ । त्यसैले सुटुक्क कसैले थाहै नपाई लगानुपर्छ ।
दर्शकले थाहा पाउलान् कि भने झैँ गरेर रिलिज भएको चलचित्रबारे दर्शकले पनि किन चासो राखिदिन्थे र ? मतलब नै गरिदिएनन् । खोजखबर नै गरिदिएनन् ।
दर्शकले नखोजेपछि हलमा चलचित्र किन टिक्थ्यो र ? टिकेन । दुई दिनमै धागो चुँडियो ।
शुक्रबार रिलिज भएको चलचित्र अहिले हलमा छैन । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा छैन नै, अरू हलले पनि उतारिसकेका छन् । सिडीसीमा जम्मा एउटा शो छ आज (आइतबार) । त्यसैले ‘धागो’को यो अवस्थालाई हेर्दा जसरी सुटुक्क रिलिज भएको थियो, त्यसैगरी सुटुक्क उत्रियो भन्दा पनि हुने भएको छ । अथवा धागो बलियो परेनछ दुई दिनमै चुँडिएछ भनेर व्यंग्य गर्दा पनि हुन्छ ।
भारतको डुवर्स क्षेत्रमा छायांकन गरिएको चलचित्र ‘धागो’ नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ शुक्रबार रिलिज भएको थियो ।
उदीप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल र भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको थियो ।
चलचित्रमा परिवारभित्रको सम्बन्ध, आर्थिक अभावका कारण उत्पन्न हुने दैनिक समस्या, सामाजिक दबाब र विषम परिस्थितिका बीच पनि अभिभावकले सन्तानका सपनाका लागि गर्ने निरन्तर प्रयासलाई रूपमा चित्रण गरेको निर्माण पक्षले बताएको थियो ।
‘धागो’ भारतका पहाडी क्षेत्र, सिलीगुडी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्सजस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रहरूमा रिलिज भएको थियो ।
चलचित्रमा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेकी छन् । प्रभात थापा, सुरभी थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारले साथ दिएका छन् । अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिएकी थिइन् ।



