निर्माता संघ चुनाव : अध्यक्षमा उदय र सुनिल भिड्दै

काठमाडौं । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा चुनावी सरगर्मी बढेसँगै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

सोमबार हुने कार्यसमिति निर्वाचनको लागि अध्यक्षसहित महासचिव र सचिव पदमा मतदान हुने निर्वाचन अधिकृत ताराकुमार श्रेष्ठले जानकारी दिए ।

संघको १९औँ साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने भएपछि निर्माताहरू चुनावी माहोलमा होमिएका उदय सुब्बा र सुनिलकुमार थापा अध्यक्ष पदको लागि भिड्दैछन् ।

हाल वरिष्ठ उपाध्यक्ष रहेका सुब्बा यसअघि एक पटक वरिष्ठ उपाध्यक्ष र तीन पटक उपाध्यक्ष भइसकेका छन् । थापा भने हाल महासचिव छन् र यसअघि एक कार्यकाल सदस्य रहेका थिए ।

महासचिव पदको लागि किरण नेपाली र खगेन्दप्रसाद लामिछानेबीच प्रतिस्पर्धा हुनेछ । सचिवमा युवराज गिरी र किसान पोखरेल प्रतिस्पर्धामा छन् ।

आइतबार दिउँसोसम्म उम्मेदवारमाथि दावी, विरोधको समय दिइएको थियो । अध्यक्षका प्रत्यासी सुब्बाले अर्का प्रत्यासी थापामाथि उजुरी दिएका थिए ।

सुब्बाले सहमतिमा उजुरी फिर्ता लिएपछि अध्यक्षमा चुनाव हुने बाटो खुलेको हो ।

यसैबीच, संघको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य पदहरूमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । उपाध्यक्ष पदमा रौनकविक्रम कँडेल र ज्योतिराज राई निर्विरोध चुनिएका छन् भने कोषाध्यक्षमा रामप्रसाद रिजाल पनि निर्विरोध निर्वाचित भएका छन् । ९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएकाले सबैजना सर्वसम्मत भएका छन् ।