‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२’ को घोषणा

काठमाडौं । चलचित्र विकास बोर्डले ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२’ को घोषणा गरेको छ । नेपाललाई सांस्कृतिक, भाषिक, कलात्मक र पर्यटनको दृष्टिले विश्वसामु पहिचान गराउने उद्देश्य रहेको प्रतियोगिताले चलचित्र क्षेत्रका लागि मात्र नभई सॉस्कृतिक तथा पर्यटनमा पनि योगदान पु¥याउने बताइएको छ ।

यसअघि लघु चलचित्र प्रतियोगिता भए पनि वृत्तचित्र प्रतियोगिता भने बोर्डले आयोजना गरेको पहिलोपटक हो ।

चलचित्र विकास बोर्डका अनुसार, स्वदेशमै सिर्जनात्मक अभ्यास बढाउन, नयाँ पुस्ताका निर्देशक तथा अनुसन्धानमुखी फिल्म निर्मातालाई राष्ट्रिय स्तरमा उजागर गर्न तथा चलचित्रलाई ज्ञान, चेतना र अभिव्यक्तिको माध्यमका रूपमा अझ प्रभावकारी बनाउन यो प्रतियोगिता सहयोगी बन्ने अपेक्षा गरिएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, प्रविधि, सुशासन र सामाजिक चेतनामूलक तथा स्वदेश भित्र सकारात्मक सन्देश, सचेतना, जागरण एवं उत्प्रेरणा जगाउने विषय केन्द्रित वृत्तचित्र तथा लघु चलचित्र निर्माणलाई प्राथमिकतामा राखेर यो कार्यक्रम सुरु गरिएको छ बोर्डले जनाएको छ ।

प्रतियोगितामा भाग लिन इच्छुक सर्जकहरूले सूचना प्रकाशित भएको मितिबाट ७५ दिनभित्र तोकिएको ढाँचामा आवेदन दर्ता गर्नुपर्नेछ ।