१२ वर्षपछि निर्देशनमा फर्किए ‘मोक्ष’ निर्देशक श्रेष्ठ, सौगातलाई लिएर सुरु गरे ‘बब डाई’

काठमाडौं । चलचित्र ‘बब डाई’ शुभमुहूर्तसँगै छायांकन सुरु भएको छ ।

प्रवीन श्रेष्ठको निर्देशनमा निर्माण हुने यो चलचित्रको गएको सोमबार चन्द्रागिरिबाट शुभमुर्हुतसँगै ४५ दिनमा छायांकन सक्काउने गरी सुरु गरिएको हो ।

मुख्य भूमिकामा सौगात मल्ल देखिने चलचित्र काठमाडौं उपत्यकाका कीर्तिपुर र चन्द्रागिरि आसपासका क्षेत्रमा छायांकन हुनेछ । निर्देशक श्रेष्ठका अनुसार ‘बब डाई’ कीर्तिपुरकै कथामा आधारित छ ।

यसअघि ‘मोक्ष’ चलचित्रका निर्देशन गरेका प्रवीनले १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दै छन् । उनका अनुसार ‘बब डाई’मा कीर्तिपुरकै कथा छ ।

चलचित्रको नामबारे निर्देशक श्रेष्ठ भन्छन्, ‘खासमा बब डाई भनेको बब दाइ हो । नेवारी ट्युनमा दाइलाई डाई भनिने भएकाले नाममा त्यसरी राखेका हौँ ।’

चलचित्रमा सौगातसँगै, सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्ण भक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पण्डितको अभिनय रहनेछ ।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने चलचित्रका निर्मातामा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर छन् । कार्यकारी निर्माता रवीन्द्र प्रजापति हुन् ।

चलचित्रमा मैनिषा गौचन र निर्देशक श्रेष्ठ स्वयंको कथा रहेको छ । तर्कराज न्यौपाने मुख्य सहायक निर्देशक सहायक निर्देशक दिनेश बहादुर राउत रहेको चलचित्रलाई श्याम तामाङको टिमले खिच्दै छ भने निर्देशक श्रेष्ठले नै सम्पादन गर्नेछन् ।