ब्लकबस्टर केकी, दोहोरो अंकको सफलता
काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई ‘बोक्सीको घर’को घर त फाप्यो नै, त्यसयता पनि उनको यात्रा सुखद छ । ‘बोक्सीको घर’ले बक्सअफिसमा दोहोरो अंकको सफलता पाएपछि सुरु भएको सुखद् यात्राले निरन्तरता पाइरहेको छ ।
केकी अभिनीत चलचित्र ‘परान’ यतिबेला सफलताका साथ देशभरका सिनेमा हलहरुमा चलिरहेको छ । यो चलचित्रले पनि बक्सअफिसमा दोहोरो अंकको ग्रसकलेक्सन गरिसकेको छ ।
दर्शक र समीक्षक दुवैको तारिफ बटुलिरहेको सिनेमाले १० करोडभन्दा माथि कलेक्सन गरिसकेको छ ।
बीचमा आएका केकीको अभिनय रहेका ‘के घर के डेरा–२’ र ‘जनै हराएको मान्छे’ भने अपेक्षित चल्न सकेनन् । तर, त्यसपछि आएको ‘परान’ले भने लय समात्यो । ‘परान’ले लय समाउँदा उनको पोल्टामा अर्को सफल चलचित्र थपियो ।
यसपछिका केकीका चलचित्रले कस्तो बाटो पहिल्याउँछन्, त्यो भने हेर्न बाँकी नै छ । अहिले केकी आफैँ चलचित्र निर्माणको तयारीमा रहेको बुझिएको छ ।
‘बोक्सीको घर’बाट उनले आफ्नै ब्यानरबाट चलचित्र निर्माणमा हात हालेकी हुन् । उनले निर्माण गरेको पहिलो चलचित्र नै ब्लकबस्टर भएको थियो । पहिलो चलचित्र नै ब्लकबस्टर भएपछि यतिबेला केकीका हातमा चलचित्रको बाक्लो लाइनअप त छैँदै छ, आफैँ लगानी गर्न पनि उच्च आत्मविश्वास भरिएको छ ।
केकी सुरु देखि नै राम्रो काम गर्ने भनेर चिनिने अभिननेत्री हुन् । तर, उनको हातमा ब्लकबस्टर सिनेमा आइपुग्न भने लामो समय कुनुपर्यो । तर, अहिले भने उनका हातमा लगातारजस्तै ब्लकबस्टर सिनेमा पर्न थालेका छन् ।



