‘परालको आगो’को छायांकन सम्पन्न, बैशाख ११ गते प्रदर्शनमा आउने
काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको चलचित्र ‘परालको आगो’को छायांकन सम्पन्न भएको छ ।
नेपाली आख्यानका धरोहर गुरुप्रसाद मैनालीको सुप्रसिद्ध कथामा आधारित चलचित्रको म्याग्दीका विभिन्न रमणीय स्थानहरूमा ४० दिन लगाएर मंगलबार छायांकन सकिएको हो ।
दसैं अघिबाट म्याग्दीमा सुरु भएको यो चलचित्रको छायांकन जेन-जी आन्दोलन, वर्षा र पहिरोको अवरोधका कारण निर्धारित ३० दिनको सेड्युलभन्दा १० दिन ढिलो सकिएको निर्माता सुशील पोखरेलले बताए ।
यस्तै निर्माता पोखरेलले यस चलचित्रलाई आगामी वर्षको बैशाख ११ गते (शुक्रबार) प्रदर्शनमा ल्याइने जानकारी समेत दिएका छन् ।
अन्य चलचित्रसँग बक्स अफिसमा जुध्न नपरोस् र सबैले व्यवसाय गर्ने वातावरण बनोस् भन्ने उद्देश्यले साधारण मिति रोजेको निर्माता पोखरेलले बताए ।
“एकैचोटी धेरै फिल्म हलमा आउँदा निर्माता तथा हल व्यवसायीहरूको नोक्सानी हुन्छ। ग्यापमा आउँदा दुवै पक्षलाई फाइदा होस् भन्ने सोचले सबै मेजर डेट (चाडपर्व) छोडेर बैशाख ११ गतेको साधारण डेट लक गरेको हुँ,” उनले भने ।
उक्त मितिमा अन्य चलचित्र नजुधाई दिन उनले आग्रह समेत गरेका छन् ।
निर्माण टोलीले छायांकन सकिएको घोषणासँगै तीन फरक-फरक ‘लुक्स’का तस्बिरहरू सार्वजनिक गरेको छ ।
यस चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी लगायत बाल कलाकार एन्जिला बानियाँको अभिनय रहेको छ ।
सुशील देवकोटाको लेखन रहेको यो चलचित्रका गीत सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतले लेखेका छन् ।
यो सिनेमालाई संकल्प भुजेलले खिचेका हुन् भने कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।
मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथालाई ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि सिनेमा बनाएका थिए, जुन व्यावसायिक रूपमा सफल भएको थियो ।



