अभिनेत्री साम्राज्ञीको स्पष्टीकरण- ‘घर तोड्ने काम गरेको छैन’

काठमाडौं । अभिनेत्री साम्राज्ञी आरएल शाहले आफ्नो इन्गेजमेन्टलाई लिएर उठेका प्रश्न र आलोचनाहरूबारे मुख खोलेकी छिन् । उनले इन्गेजमेन्ट गरेपछि सामाजिक सञ्जालमा विभिन्न आरोप–प्रत्यारोप चलेका थिए ।

अमेरिका निवासी विशाल खरेलसँग हालै इन्गेजमेन्ट गरेकी शाहले आफूमाथि लागेको ‘विवाहित पुरुषसँग सम्बन्ध राखेको’ र ‘घर तोडेको’ आरोपको कडा खण्डन गरेकी हुन् ।

साम्राज्ञीले बुधबार इन्स्टाग्राम स्टोरीमार्फत स्पष्टीकरण दिँदै विशालसँगको आफ्नो सम्बन्ध कानुनी रूपमा दर्ता भइसकेको र यसमा आफूलाई कुनै पछुतो नभएको बताएकी छिन् ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताले लगाएका आरोपहरूलाई नकार्दै उनले भनेकी छन्, “म कहिल्यै विवाहित पुरुषसँग डेट गर्दिनँ वा कसैको परिवार तोड्दिनँ । विशाल आफ्नो विगतबाट धेरै अघि बढिसकेका थिए ।”

साम्राज्ञीले ‘सिक्काको दुई पाटा हुने’ भन्दै एकतर्फी कुरा सुनेर आफ्नो खुसीको मजाक नउडाउन आग्रह गरेकी छिन् ।

आलोचनाले आफूहरूको प्रेम र भविष्यको योजनालाई कुनै असर नपार्ने उनको भनाइ छ ।

तर, विशालकी पूर्वपत्नीले भने थाइल्याण्डमा म्युजिक भिडियो छायांकनका क्रममा विशाल र साम्राज्ञी नजिक भएको र सोही कारण आफ्नो सम्बन्धविच्छेद भएको दाबी गरेकी छिन् ।

यस्तो छ उनको इन्स्टाग्राम स्टोरी (उनका शब्दमा)

‘जतिबेला हामीले आशा गुमाएका थियौं, त्यतिबेला हामीले एकअर्काको माया पायौं । दुर्भाग्यवश हामीसँग दुवैको विगत थियो, जुन सबैसँग हुन्छ । यसमा हामीलाई पछुतो छैन । हामीले जीवनमा अगाडि बढ्ने निर्णय गर्‍यौं । मैले कहिल्यै विवाहित पुरुषसँग डेट वा इन्गेजमेन्ट गर्दिन र परिवार तोड्दिन पनि । ऊ पहिले नै धेरै अघि बढिसकेको थियो । हामी इन्गेजमेन्ट भएका छौं र कानुनी रूपमा मंगेतरको रूपमा दर्ता भएका छौं । हामी यसलाई सुरक्षित राख्ने, हाम्रो प्रेमको रक्षा गर्ने र खुसी हुने वाचा गर्छौं र हामीलाई यसले केही पनि परिवर्तन गर्ने छैन । कसैलाई मूल्यांकन गर्नुअघि, कृपया सम्झनुहोस् कि सिक्काका दुई पाटा छन् त्यसैले मेरो खुशीको मजाक उडाउन बन्द गर्नुहोस् । कृपया आफ्नो भ्यूजको लागि मेरो नाम प्रयोग गर्न बन्द गर्नुहोस् र मलाई शान्तिपूर्वक बाँच्न दिनुहोस् ।’