श्याडो पिक्चर्सले ल्यायो नेपालमा ‘धुरन्धर’

काठमाडौं । नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘श्याडो पिक्चर्स’ कम्पनीले अब अन्तर्राष्ट्रिय फिल्म बजारमा पनि आफ्नो प्रभावशाली उपस्थिति बनाउन सफल भएको छ ।

नेपाली चलचित्र ‘आउटल दफा २१९’ को निर्माण कम्पनीका रूपमा परिचित यो कम्पनीले बलिउडको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर’ को नेपाल वितरण अधिकार प्राप्त गरेको छ ।

यससँगै जियो स्टुडियोजले श्याडो पिक्चर्सलाई आफ्नो अधिकारिक विक्रेता तथा वितरण साझेदारको रूपमा मान्यता प्रदान गरेको छ, जसलाई नेपाली चलचित्र क्षेत्रका लागि ठूला उपलब्धिका रुपमा लिन सकिन्छ ।

श्याडो पिक्चर्स र जियो स्टुडियोजबीचको यो सहकार्यले नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली फिल्महरूका लागि नयाँ ढोका खुला गरेको छ । जियोको विश्वव्यापी ओटिटी प्लेटफर्ममा अब नेपाली चलचित्रहरू पुग्ने उच्च सम्भावना देखिएको छ, जसले नेपाली चलचित्रलाई विश्वभरि दर्शकसम्म पुर्‍याउने छ ।

जियो स्टुडियोजसँगको साझेदारी र विदेशी ठूलो बजेटका चलचित्रको आधिकारिक वितरण अधिकार प्राप्त गर्नु स्वयं नेपाली कम्पनीका लागि महत्त्वपूर्ण सफलता हो । यसले नेपाली चलचित्र बजारमा विश्वस्तरको व्यावसायिकता र अवसर भित्र्याउने अपेक्षा गरिएको छ ।

श्याडो पिक्चर्सको यो कदमले नेपाली चलचित्र बजारलाई ग्लोबल वन–स्ट्रिममा लैजाने सम्भावना बढाएको छ ।

बलिउडका मल्टी स्टारकास्ट कलाकारहरू रहेको एक्सन-थ्रिलर फिल्म ‘धुरन्धर’ डिसेम्बर ५ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ ।

आदित्य धरको निर्देशनमा बनेको यो फिल्ममा रणवीर सिंह, संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारहरूको अभिनय छ ।

‘धुरन्धर’ले दर्शकलाई फरक र स्तरिय अनुभव दिने विश्वास लिइएको छ ।