‘डल्लेले इन्ट्री मार्यो’को पहिलो झलकमा यस्तो देखिए ‘बले’
काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक्स सार्वजनिक भएको छ । आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको निर्माण टिमले सोमबार पहिलो पोस्टर सार्वजनिक गरेको हो ।
युवापुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही सन्देश दिन खोजेको अनुमान लगाउन सकिने पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) को लुक्स देख्न सकिन्छ । उनी हातको औँलाले सिगरेट तानेर झुम्म परेका दृश्यमा देखिएका छन् । कतै-कतै सिगरेट तान्दा उनी निदाएका जस्तो देखिनु उनको क्यारेक्टरको विशेषता झल्काउँछ ।
पोस्टरमा केवल सागर लम्साललाई मात्रै देखाइएको छ, अन्य कलाकार समावेश गरिएको छैन ।
यो चलचित्रको पटकथा र संवाद लक्ष्मण सुवेदीले लेखेका छन् ।
उषा फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा बलेसँगै रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रबिन्द्र झा, कैलास रावत, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी,माधबा खनाल,सुस्मा के.सी नबराज गिरि लगायत कलाकारको अभिनय छ ।
निर्देशक गिरी स्वयंले पनि अभिनय गरेका छन् । बालकलाकारमा कंगना गिरी, रोनिश खड्का र काजल गिरी रहेका छन् ।
मुख्य सहायक निर्देशक बिनयराज पौडेल, छायांकन श्याम तामाङ, निर्माण व्यवस्थापन सुमन काफ्ले, कथा उमेश कुमार बस्नेत, र निर्माता सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत, सरिता पुरी गिरी रहेका छन् ।
चलचित्रको अधिकांश छायांकन कास्कीको याङ्जाकोटमा भएको हो भने करिब १० प्रतिशत दृश्य काठमाडौंको गागलफेदी आसपास खिचिएको छ ।
यस चलचित्रलाई नेसनल सिने ग्रुपले वितरण गर्नेछ ।



