सरकार चलचित्र विधेयक फिर्ता लिने पक्षमा छैन: मन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन् ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री खरेलले चलचित्र विधेयकलाई सरकारले फिर्ता नलिने स्पष्ट पारेका हुन् ।
उनले चलचित्र क्षेत्रसँग सम्बन्धी केही संघसंस्थाहरुले आफुलाई भेटेर चलचित्र विधेयक फिर्ता लिन आग्रह गरेको जानकारी दिए । उनले समिति बैठकमा सरोकारवालासंग बसेर उनीहरुको मागका बारेमा छलफल गर्न सरकार तयार रहेको बताए ।
यसपटक चलचित्र विधेयकलाई उपलव्धीमूलक बनाएर पारित गर्न सहयोग गर्ने उनले बताए । त्यस्तै मन्त्री खरेलले चलचित्र विकास बोर्डलाई स्वायत्तता प्रदान गर्ने नाममा जथाभावी हुन नदिइने धारणा राखे । चलचित्रलाई नियन्त्रण नभइ सहजीकरण र नियमन सेन्सरलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।
मन्त्री खरेलले चलचित्र क्षेत्र सञ्चार मन्त्रालयकै मातहत राख्नुपर्नेमा जोड दिए । समिति सभापति तुलसा कुमारी दहालले चलचित्र विधेयक फिर्ता लिनुपर्छ भन्ने सरोकारवालासँग छलफल गरेर विधेयकलाई अघि बढाइने जानकारी दिइन् ।



