साइमनको अभिनयले ‘हर्ष’काे बढायो चर्चा, नयाँ गीत ‘पाहुना’ सार्वजनिक

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘हर्ष’को नयाँ गीत ‘पाहुना’ सार्वजनिक गरिएको छ ।

स्वर्गीय निर्देशक शिव रेग्मीको शब्द, समीर–हिमालको संगीत तथा वसन्त सापकोटाको पुनः एरेन्जमा निर्माण टिमले याे गीतलाई गायिका गरिमा अधिकारीकाे आवाजमा सार्वजनिक गरेकाे हाे ।

गीतको भिडियोमा मुख्य कलाकार साइमन वादीसँगै खगेन्द्र लामिछाने र वर्षा राउतलगायत कलाकारहरू फिचर्ड छन् । सिनेमा रिलिजसँगै बाल कलाकार साइमनको अभिनय र व्यवहारिक उपस्थितिले फिल्म क्षेत्रमा चर्चाको केन्द्र बनेको छ । उनी विभिन्न हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । अभिनेत्री वर्षा राउत पनि हल–हलमा पुग्दै दर्शक प्रतिक्रिया बुझिरहेकी छिन् ।

दर्शकबाट आइरहेको उत्कृष्ट प्रतिक्रियाले आफू उत्साहित भएको वर्षाले बताइन् ।

सिनेमाले एकता पौडेललाई डेब्यु निर्देशकका रूपमा परिचित गराएको छ। स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी समेत रहेकी उनी न्युयोर्क फिल्म एकेडेमीकी फिल्म मेकिङ विद्यार्थी हुन्। यसअघि उनले केही छोटा फिल्म निर्माण गरिसकेको अनुभव छ।

‘हर्ष’मा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीले अभिनय गरेका छन्।

सिनेमामा आलोक शुक्लाको छायांकन, समीर–हिमाल, वसन्त सापकोटा र एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी समावेश छ।

अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम मुभिजको ब्यानरमा बनेको ‘हर्ष’को कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता हुन्। प्रोडक्सन म्यानेजर इश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा रहेका छन्।